गणतन्त्र माओवादीको रगतले लेखिएको हो : पूर्वमन्त्री शर्मा

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य रेखा शर्माले अरुका लागि गणतन्त्र सामान्य भए पनि माओवादीका लागि भने रगतले लेखिएको बताएकी छन् ।

कृष्ण सेन इच्छुकको २३ औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले मंगलबार काठमाडौंमा गरेको ‘पिसिएन सम्बाद’ कार्यक्रममा उनले गणतन्त्र माओवादीको रगतले लेखिएको बताएकी हुन् ।

उनले भनिन्, ‘गणतन्त्र सानो तिनो दु:खले आएको होइन । यसमा जनताको ठुलो योगदान छ माओवादीका लागि गणतन्त्र रगतले लेखिएको हो । राजनीतिक विचारले मात्रै होइन भावनात्क हिसावले पनि यसको इतिहास उच्च छ ।’

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेकी माओवादी नेतृ शर्माले कतिपय साना तिना कमजोरीलाई हेरेर गणतन्त्रमाथि प्रश्न उठिरहेको सत्य भएपनि त्यसैलाई लिएर गणतन्त्र प्रति हमला गर्न खोज्नेहरुको सपना पूरा नहुने प्रष्ट पारिन् । 

सरकारमा बसेकाले काम गर्न नसकेका कारण प्रश्न उठ्ने अवस्था रहेपनि यसलाई गणतन्त्रमाथिकै असन्तोष मान्न नसकिने उनको भनाइ छ । 

सरकारले जनताको पक्षमा नभएकोले प्रश्न उठिरहेको र त्यसलाई सम्बोधन गरेर जनपक्षीय कामहरु अघि बढाउनुपर्ने उनले आवश्यकता औल्याएकी छन् । गणतन्त्रका लागि सुशासन पहिलो आवश्यकता भएको भन्दै उनले सुशासनका लागि प्रेस सेन्टरकर्मीले राज्यलाई दबाब दिनुपर्नेमा जोड दिइन् ।