पोखरा, १३ जेठ । पोखरामा जारी सत्तारूढ दल नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
सहमतिको लामो प्रयास सफल नभएपछि मतदान शुरु भएको निर्विरोध निर्वाचित केन्द्रीय सदस्य रविन थापाले जानकारी गराए ।
पोखरा सभागृहमा मंगलबार बिहान १० बजेबाट मतदान सुरु भएको हो ।
निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले छुट्टाछुट्टै प्यानल प्यानल खडा गरेर मैदानमा उत्रिएकाले नेतृत्व चयन अन्ततः मतदानमा आइपुगेको बताइएको छ ।
आज भइरहेको निर्वाचनका लागि मत हाल्न ४२ इलेक्ट्रिक मेसिन राखिएको छ भने प्रदेश पिच्छे फरक फरक मतदान बुथ राखिएको छ।
थेबे प्यानलबाट उपाध्यक्षमा क्रमशः महाराज गुरुङ र विनय शाह तथा महासचिवमा महेश चौलागाई उम्मेदवार रहेका छन भने पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम र पर्वत भण्डारीसहित महासचिवमा कुबेर अधिकारी मैदानमा उत्रिएका छन् ।