पोखरा, २१ साउन । नेपालकै चेरापुञ्जी उपमा पाएको पोखरा र आसपासमा पानी नपरेर खेतहरू बाँझिएका अवस्थामा पोखरेली साहित्यकारको टोली भने शनिबार पर्यटकीय गाउँ याङ्जाकोटमा अक्षरको खेतीमा तल्लिन देखिन्थ्यो ।
रवि नपुग्ने ठाउँमा कवि पुग्छन् भने जस्तै उनीहरूले कास्कीको मादी गाउँपालिकास्थित याङजाकोटमा लुकेका प्रकृति र संस्कृतिका यावत् पक्षका साथै जीवन जगतका अनेकौ भोगाइलाई आफ्ना सिर्जनामा उतारे पनि । आफ्ना सिर्जना प्रस्तुत गर्दै भानु वाङमय प्रतिष्ठान, पोखराका सचिव अम्बिकाप्रसाद भट्टराईले भने,
“साहित्यको यात्रामा आइयो
याङ्जाकोट पुगेर रमाइयो ।
याङ्जाकोटमा बसेको बास
फूल जस्तै चल्नेछ सुवास ।।”
भट्टराईले त्यहाँका विविध पक्षलाई यसरी नै आफ्ना रचनामा प्रस्तुत गर्नुभयो । एक त गाउँको बाटो, त्यसमा पनि वर्खाको याम, ठाउँ ठाउँमा भत्के बिग्रेको बाटो । भट्टराईले अर्को पंक्तिमा थपे,
“साथी सम्झी मन हुने फुरुङ्ग
बाटो देख्दा ज्यान हुने जिरिङ्ग”
‘जीवन र जगतको यथार्थबोधका लागि अक्षरयात्रा’ नाम दिएर गजल सन्ध्या र नवनीत साहित्य सागरले चलाउँदै आएको साहित्यिक अभियानको १६८ औँ शृङ्खलाअन्तर्गत आफूहरू याङ्जाकोट होमस्टे आइपुगेको गजल सन्ध्या पोखराका अध्यक्ष अमृत सुवेदीले जानकारी दिए ।
“हामीले प्रत्येक महीनाको तेस्रो शनिबार ठाउँ ठाउँमा पुगी अक्षरयात्रा मनाएका छौँ, कम्तिमा महिनाको एक दिन पोखराको यो साहित्यिक अभियान कुनै न कुनै गाउँसम्म पुग्ने गरेको छ,” उनले भने, “प्रकृति, संस्कृति र ऐतिहासिकताले भरिएका गाउँ बस्तीमा पुगी जीवन र जगतका भोगाइ र अनुभवलाई स्रष्टाहरूले शब्दमा उतार्छन् ।”
स्रष्टाहरूले शब्दमार्फत गरेको दस्ताबेजीकरणले साहित्यिक पर्यटनमा पनि ठूलो योगदान पु¥याएको उनले बताए । झन्डै ३० जना पोखरेली साहित्यकार सहभागी याङ्जाकोटको अक्षरयात्राको व्यवस्थापन मादी गाउँपालिका र प्रवद्र्धन पर्यटन बोर्ड पोखराले गरेको थियो ।
पोखराबाट हरिया डाँडा पार गर्दै बन र बाटाहरू छिचोल्दै पुराना शैलीका ढुङ्गाले छाए, विच्छाइएका घर भएको याङजाकोट पुगेका अक्षरयात्रीलाई स्थानीयवासीले आत्मीय स्वागत गर्दै स्थानीय परिकारको स्वाद चखाए ।
त्यहाँबाट देखिने टलक्क टल्किएको हिमाल, शीतल हावा र रमणीय परिवेश एवं त्यहाँको इतिहाससमेतलाई स्रष्टाहरूले अक्षरमा उतारें । याङ्जाकोटजस्ता ऐतिहासिक गाउँ रित्तिँदै जाँदाका दुःख शब्दमा लिपिबद्ध गर्दै स्रष्टाहरूले त्यहीबाट देशको राजनीतिक अवस्था नियाले । मान्छेहरू निराशावादी हुँदै गएको सङ्केत गर्दै कवि तीर्थ श्रेष्ठले कवितामार्फत आशा राख्न आग्रह गर्दै भने,
“विश्वास गर मान्छेसँग
मान्छेको विश्वास मूल फुट्ने छ
एक दिन यस्तो आउने छ
मान्छे प्रलयको होइन
लयको गीत आउने छ”
याङ्जाकोटाको इतिहास र संस्कृतिलाई खोतल्दै कवि धनप्रसाद तामाङले भने,
जो आगोले पोल्दैन
जो पानीले गल्दैन
जो कालले मर्दैन
उसैको याङ्जाकोटमा
किन बल्झिरहन्छ घाँटु,
उनले याङ्जाकोटको घाँटु, सोरठी, दरबारको संरक्षण र संस्कृति तथा पहिचानको खोजी गर्न कवितामार्फत आह्वान पनि गरे । अर्की कवयत्री अनिता दाहालले मुक्तकमार्फत पिरती लगाउने रहर यसरी प्रस्तुत गरे,
छोडेर अनेक काम याङ्जाकोटैमा
लाग्यो मनमा जामजाम याङ्जाकोटैमा
बस्ती बाटो मान्छे सबै कति अहा
भयो यतै माया लाम याङ्जाकोटैमा
समाजमा व्याप्त विकृति विसंगति प्रति लक्षित गर्दै अर्का कवि सुदर्शन पौडेलले भने,
“ट्वाइलेटमा कमोड राखेर
कान्लामा बसिरहेछन् साइला दाइ
पसलमा बिस्कुट चाउचाउ राखेर
कोदोको रोटी चबाउँदैछिन् साहिली भाउजु
ट्युबलाइटको उज्यालो देख्न नसकेर
पानसमा सलाई जोड्छिन् माझघरे फूपू
गाउँमा सहर, गाउँलेहरूका लागि पसेको छैन ”
अर्का कवि किरण थापाले सुविधा भोगी जनप्रतिनिधिलाई कवितामार्फत व्यंग्य गर्दै थपे,
“भोलि बिहानै शुरु हुनेछ
हजुरको राजकीय भ्रमण
निवासकै पिर्के सलामीबाट
समयमै पुग्नु छ,
साइरन बजाउँदै
वडाध्यक्षको डोजरले कोतरेको
अभागी गाउँ
र गर्नुछ,
विकासको मुल फुटाउने
तिलस्मी भाषण”
अक्षरयात्रामा कलाकार प्रकाश घिमिरे, कवि चैतन्य अधिकारी, गीता तिवारी, प्रकाश ज्ञवाली, कपिल शर्मा, दीपक सिञ्जाली, सौगात पोखरेल, भीम रानाभाट, उदीपराज ढुङ्गाना, बालिका अभिलासी, आनन्द भट्टराई लगायतले याङ्जाकोटाका विविधता एवं जीवन जगतका यावत् पक्षलाई रचनामा उतारेको सचिव वसन्त विनोदले जानकारी दिए ।
स्रष्टाहरूले गुञ्जाएका अक्षरले याङजाकोट अझै जीवन्त बन्ने अन्नपूर्ण संरक्षण व्यवस्थापन समिति, याङजाकोटाका अध्यक्ष नारायण गुरुङले बताए ।