शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा क्षेत्रलाई सुनिश्चित र गुणस्तरीय गन्तव्यतर्फ लैजान शिक्षा विज्ञहरूको मार्गदर्शन आवश्यक भएको बताएका छन्।
सोमबार कांग्रेस शिक्षा विभागद्वारा काठमाडौंमा आयोजित शिक्षा नीति बहसअन्तर्गत उच्च शिक्षाका आयाम विषयक विमर्षमा उनले उक्त कुरा बताएका हुन्।
“संयोगले शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्नुपरेको छ, धेरै कुरा सिक्न बाँकी छ,” भन्दै उनले शिक्षा प्रणालीमा सुधार ल्याउन विज्ञहरूको सल्लाह र सुझावलाई स्वीकार गर्ने प्रतिबद्धता जनाए।
उनले भने, “लामो समय पत्रकारितामा बिताएँ। पत्रकार महासंघको महासचिव भएर संसदको चुनाव जितेर सांसद बनेको व्यक्ति हुँ। सम्पादकीय र पाठक प्रतिक्रियामा कहिलेकाहीँ विद्वानहरूले भन्न नसकेको कुरा लेखिएको हुन्छ। त्यसैले म तपाईंहरूको पाठक हुँ, विद्यार्थी हुँ। संयोगले मात्र शिक्षामन्त्री बनेको हुँ। कृपया बाटो देखाइदिनुहोस्।”
उनले बहुलवादलाई सैद्धान्तिक रूपमा नस्वीकारेसम्म शिक्षा र राजनीतिमा विविधता सम्भव नहुने धारणा पनि राखे।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई शिक्षाको हब बनाउनु पर्नेमा जोड दिएका थिए।