हाम्रो घरमा ढुङ्गा प्रहार योजनावद्ध हुनसक्छ : अध्यक्ष पाण्डे

काठमाडौ । आज बिहानै आमाको फोनबाट एकदमै अप्रत्याशित खबर पाएँ- लमजुङ सदरमुकाम बेसीशहर बजारस्थित हाम्रो घरमा गएराति ढुंगाहरू प्रहार भएको रहेछ। एकछिन त म स्तब्ध परें, किनभने मेरो वा मेरो परिवारको कसैसँग पनि बेसीशहरमा कुनै प्रकारको दुश्मनी छैन।

कुनै समय थियो, बेसीशहर बजारका हरेक मानिस हाम्रो परिवारसँग आत्मीय रुपमा परिचित थिए। त्यहीँ पढेको, हुर्केको र त्यहीँबाट नै आफ्नो सामाजिक तथा राजनीतिक यात्रा सुरु गरेको नाताले बेसीशहर मेरो लागि सँधै पवित्र ठाउँ हो। बजार अहिले ठूलो भएको छ, धेरै नयाँ अनुहार आएका छन्, र म पनि दुई दशकदेखि लमजुङबाहिर कार्यरत छु – तर त्यसले पनि बेसीशहरसँगको मेरो आत्मीयता उस्तै छ । भेट्दा प्रायले सहानूभूति, माया, स्नेह देखाउनुहुन्छ, गर्व नै गरेको पाउँछु ।

यस्तो अवस्थामा, मध्यरातमा ठ्याक्कै मेरो घर लक्षित गरी ढुंगा प्रहार हुनु अस्वाभाविक र पीडादायक दुवै हो। अरूका घरमा केही नभई केवल मेरो घरमा प्रहार किन भयो? त्यो कसको इशारामा भयो? यस्ता प्रश्नहरू दिनभर मनमा खेलिरहे।

आज बिहानै लमजुङका प्रहरी प्रमुख रमेश बोहोरा स्वयं घटनास्थलमा पुगेर प्रत्यक्षरूपमा अवस्थाको जानकारी लिनुभएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छु। जिल्ला प्रशासन कार्यालयले पनि विषयमा गम्भीर चासो देखायो । सिसिटिभी फुटेजका आधारमा साँझसम्ममा तीन जना संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको जानकारी पाएको छु। तिनीहरूसँग मेरो कुनै व्यक्तिगत सम्बन्ध वा द्वन्द्व नभएको हुँदा, यो घटना योजनाबद्ध हुनसक्ने अनुमान गर्न गाह्रो छैन।

प्रहरी प्रशासनप्रति यस घटनामा गरेको छिटो कारबाहीका लागि हार्दिक आभार प्रकट गर्न चाहन्छु। दोषी जो कोही हुन्, उनीहरूलाई कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गरियोस्।

मेरो परिवारमा अहिले आमा र ८२ वर्षीया बिरामी हजुरआमा मात्रै हुनुहुन्छ। भाईबुहारी विदेशमा छन् । उनीहरूलाई पारिवारिकबाहेक बाहिरी दुनियाँसंग केही सरोकार छैन । घरको तल्लो तलामा केही नभई माथिल्लो तलामा ठूला ढुंगा प्रहार भएको तथ्यले पनि घटना योजनाबद्ध भएको सङ्केत दिन्छ- किनभने त्यहीँ हजुरआमा सुत्नुहुन्थ्यो।

यस घटनाप्रति चासो र चिन्ता प्रकट गर्नुभएका देश–विदेशका शुभेच्छुक, प्रेस चौतारी नेपालका सम्पूर्ण साथीहरू, नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, प्रेस युनियन, लमजुङका सम्पूर्ण पत्रकार साथीहरू र सम्पूर्ण सञ्चारकर्मी समुदायप्रति हृदयदेखि आभारी छु।

त्यस्तै, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ, नेकपा (एमाले)का पदाधिकारीसहित विभिन्न जिम्मेवारीमा रहनुभएका नेताहरू तथा विभिन्न राजनीतिक दलका नेताहरूले देखाउनुभएको आत्मीयता र सहानुभूतिप्रति पनि विशेष धन्यवाद। कतिपय साथीहरूलाई फोन फर्काउन नसकेकोमा क्षमाप्रार्थी छु ।

जीवनमा अहिलेसम्म जानेर कसैको अहित गरेको छैन, र भविष्यमा पनि गर्न नपरोस् भन्ने मेरो इच्छा छ। कसैलाई दुश्मन मानेर कहिल्यै हिँडेको छैन, तर कसैले मलाई दुश्मन ठान्छ भने त्यो उनीहरूको आफ्नै दृष्टिकोण हो।

भदौ २४ गतेदेखि नै सामाजिक सञ्जालमा मेरो चरित्र हत्या गर्ने प्रयास, धम्कीपूर्ण सन्देशहरू र कृत्रिम (एआई) अडियोमार्फत भ्रम फैलाउने काम भइरहेकोमा म सजग र सचेत छु।

सत्यलाई ढाकछोप गर्न खोज्ने, असत्य फैलाउने र डर देखाउनेहरूले अन्ततः आफैं उजागर हुनेछन्। म न्यायप्रति भरोसा राख्छु।

फेरि पनि, चासो, सहयोग र साथका लागि सबैमा धन्यवाद –
आभार, नमस्कार ।

– गणेश पाण्डे
अध्यक्ष, प्रेस चौतारी नेपाल