काठमाडौं । पाँचौँ महाधिवेशनको पूर्व सन्ध्यामा प्रेस सेन्टर नेपालले पुरस्कार प्राप्त गर्ने आफ्ना पत्रकारको नाम टुङ्गो लगाएको छ ।
प्रेस सेन्टरले स्थापना गरेको शहीद कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार यस् वर्ष कोमल बराललाई प्रदान गरिने निर्णय गरिएको महासचिव सन्तोष पौडेलले बताएका छन् ।
त्यसैगरी शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार धर्मेन्द्र कर्णलाई दिने र बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार (राजेन्द्र ढकाल बेपत्ता योद्धा सन्तति) मञ्जिमा ढकाललाई दिने निर्णय भएको उनले जानकारी दिए ।
प्रत्येक प्रदेश बाट एक-एक जनालाई प्रदान गर्ने उत्कृष्ट पत्रकारिता पुरस्कार भने कोशी प्रदेशबाट ईश्वर थापा, मधेश प्रदेशबाट विकास ठाकुर र बागमती प्रदेशबाट सिर्जना गोलेले पाउने महासचिव पौडेलले जनाएका छन् ।
त्यस्तै, गण्डकी प्रदेशबाट सानेबहादुर नेपाली र लुम्बिनी प्रदेशबाट गजेन्द्र गुरुङ, कर्णाली प्रदेशबाट दीपबहादुर घर्ती र सुदूरपश्चिम प्रदेशबाट हरि जोशीलाई दिइने उनले जानकारी गराए ।
उपत्यका प्रदेशबाट भने विनोद दाहाल सो सूचीमा परेका छन् भने एसोएसिएट प्रदेशबाट डब्बु क्षेत्री, प्रतिष्ठान प्रदेशबाट रघुनाथ बजगाईं र प्रवास प्रदेशबाट केजीन राई पुरस्कृत हुने निर्णय भएको बताइएको छ ।
पुरस्कृत हुने प्रदेशमा मधेश र जिल्लामा रोल्पा परेको पनि महासचिव पौडेलले बताए ।
प्रेस सेन्टरले रोशन पुरीको संयोजकत्वमा गंगा बराल र लेखनाथ न्यौपाने सम्मीलित पुरस्कार छनौट समिति बनाएको थियो । सोही समितिको सिफारिसको आधारमा पुरस्कारबारे निर्णय गरिएको उनको भनाइ छ ।
चैत १६ गते नयाँ बानेश्वरको थापागाउँस्थित काठमाडौं बैंक्वेटमा प्रेस सेन्टर नेपालको पाचौं महाधिवेशन उद्घाटन हुनेछ । सोही अवसरमा प्रमुख अतिथि रहने पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार बितरण गर्ने बताइएको छ ।
नयाँ नेतृत्वसमेत चयन गर्ने यो महाधिवेशनका लागि प्रतिनिधि काठमाडौ केन्द्रीत हुने क्रम शुरु भएको छ । बबरमहलस्थित प्रेस सेन्टरको कार्यालयमा यतिबेला चहलपहल बढेको देखिन्छ ।