काठमाडौं । चिकित्सा शिक्षा आयोगको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका प्रमाणपत्र तहका कार्यक्रमका लागि सिट निर्धारण गरेको छ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा प्रस्तुत अनुगमन तथा मूल्याङ्कन प्रतिवेदनको आधारमा सिट निर्धारण गरिएको हो। हाल आङ्गिक, गैह्रनाफामूलक (प्रतिष्ठान/साझेदारी) र निजी गरी २८५ वटा शिक्षण संस्थालाई सिट निर्धारण गरिएको छ।
बैठकमा मेडिकल कलेजहरूलाई पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनको अनुमति दिन कानुनी सहजीकरणबारे पनि छलफल भएको छ।
बैठकमा चिकित्सा शिक्षाको स्नातक तथा स्नातकोत्तर तहको शिक्षण शुल्क निर्धारणसम्बन्धी मापदण्डको मस्यौदा टेबल गरिएको छ। कार्यदलले तयार पारेको प्रतिवेदन आयोगका उपाध्यक्ष प्रा. डा. अञ्जनीकुमार झालाई हस्तान्तरण गरिएको छ। उक्त प्रतिवेदनको अध्ययन गरी कार्यान्वयन प्रस्ताव ल्याइने बताइएको छ।
बैठकले आयोगको आगामी आर्थिक वर्षको आन्तरिक स्रोत सम्बन्धी कार्यक्रम र बजेट स्वीकृत गरेको छ। बैठकमा चिकित्सा शिक्षा ऐन, २०५७ लाई संशोधन गर्न गृहकार्य थाल्ने र आयोगलाई कार्यक्षेत्रमा सीमित गर्दै प्रभावकारी बनाउने निर्णय पनि भएको छ।







