भक्तपुर । जेनजी आन्दोलनपछि युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा राष्ट्रिय युवा परिषद्को पहिलो पूर्ण बैठक सम्पन्न भएको छ। शुक्रबार बसेको परिषद्को १९औं बैठकले युवामुखी कार्यक्रम कार्यान्वयनदेखि शोक प्रस्तावसम्मका महत्वपूर्ण निर्णय गरेको छ।
बैठकलाई सम्बोधन गर्दै परिषद अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री गुप्ताले मन्त्रालयको बजेट अत्यन्तै न्यून भएकाले अपेक्षित कार्य गर्न चुनौती रहेको बताए।
लाखौं युवालाई सशक्त बनाउने लक्ष्य भए पनि सीमित बजेटले मन्त्रालय र मातहतका निकाय सञ्चालन गर्न कठिनाइ भएको उनको भनाइ थियो।
“औपचारिकता, डिप्लोमेसी र लिगेसीमा सशक्त देखिए पनि बजेटको हिसाबले मन्त्रालय निकै कमजोर अवस्थामा छ,” मन्त्री गुप्ताले भने, “त्यसका बावजुद सकारात्मक सोच, पारदर्शिता र निरन्तर अपडेटसहित उत्साहका साथ काम गरिरहेका छौं।”
बैठकमा मन्त्री गुप्ताले आगामी दिनमा नेपाली युवाका लागि डायस्पोरा सहभागिता सहितका कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए।
परिषद् सदस्य ललिता साहका अनुसार युवा तथा स्वरोजगार कोषमा रहेको ३ अर्ब ८६ करोड रुपैयाँ को प्रभावकारी सदुपयोगका लागि परिषद्ले कोषसँग समन्वय गरेर काम गर्न मन्त्रीले सुझाव दिएका छन्।
बैठकमा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले “परिस्थिति बुझ्न सक्नेले नै परिवर्तन ल्याउन सक्छ” भन्दै वर्तमान यथार्थलाई आत्मसात् गरी रचनात्मक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौड्यालले परिषद्ले डिजिटल माध्यमलाई प्राथमिकता दिँदै आफ्ना कार्यक्रममार्फत युवालाई आकर्षित गर्नुपर्ने धारणा राखे।
परिषद्ले चालु आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारबाट स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत सिप मेला, रोजगारमूलक सिप विकास तालिम, युवा लक्षित साझेदारी कार्यक्रम, युवा सञ्जाल गठन तथा परिचालन, सूचना प्रविधि उद्यमी तथा स्टार्टअप पुरस्कार वितरण, तथा स्टार्टअप प्रदर्शनी व्यवस्थापन सम्बन्धी कार्यक्रमहरू कार्यान्वयन गर्न सञ्चालन मापदण्ड २०८२ अनुमोदन गरेको परिषद् सदस्य साहले जानकारी गराइन्।
यसैबीच, बैठकले जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ। साथै घाइते युवाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको राष्ट्रिय युवा परिषद्का प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी गराए ।







