काठमाडौँ । देशको वर्तमान परिस्थितिको समीक्षा गर्दै छ वटा कम्युनिस्ट पार्टीले संयुक्त केन्द्रीय संघर्ष समिति गठन गर्ने निर्णय गरेका छन्।
आगामी राष्ट्रिय निकासका लागि साझा धारणा बनाउँदै उनीहरूले निर्वाचन बहिस्कारको नीति लिएका छन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (जनपक्ष), नेपाल कम्युनिस्ट पार्टी तथा समाजवादी कम्युनिस्ट पार्टी नेपालका शीर्ष नेतृत्वबीच कुपण्डोलस्थित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कार्यालयमा बसेको संयुक्त बैठकको साझा धारणा बनाएका हुन् ।
उनीहरूले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा वर्तमान सरकारलाई जनविरोधी, अलोकतान्त्रिक र कठपुतली स्वरूपको भन्दै त्यसको खारेजी आवश्यक रहेको उल्लेख गरिएको छ।
स्वतन्त्र संयुक्त जन सरकार र जनसंविधान स्थापनाका लागि संयुक्त संघर्षलाई अझ तीव्र बनाइने निर्णय पनि गरिएको छ।
यस्तै, स्वतन्त्र संयुक्त जन सरकार र जनसंविधान सुनिश्चित नभएसम्म हुने जनविरोधी चुनावको बहिष्कार गर्न आम जनसमुदायसँग आह्वान गरिएको छ।
देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता तथा आगामी राष्ट्रिय निकासका लागि देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई संयुक्त संघर्षको लहर सिर्जना गर्ने आन्दोलनमा सहभागी हुन अपिल गरिएको छ।
संयुक्त प्रेस विज्ञप्तिमा सम्बन्धित पार्टीका महासचिव तथा अध्यक्षहरूले हस्ताक्षर गरेका छन्।
विज्ञप्तिमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल, नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालकी महासचिव बिश्वभक्त दुलाल आहूति, नेकपा (जनपक्ष)का अध्यक्ष महेन्द्र मल्ल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल तथा समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पूर्णबहादुर सिंह समरजंगको हस्ताक्षर रहेको छ।
हेर्नुस् विज्ञप्ति








