
भक्तपुर । राष्ट्रिय युवा परिषदले राष्ट्रब्यापी चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । परिषदले ११ औं स्थापना दिवसको अवसर पारेर बुधवार प्रतियोगिता सम्पन्न गरेको हो ।
सानोठिमीस्थित परिषद प्रांगणमा सम्पन्न प्रतियोगितामा खुला सूचनाका आधारमा प्रारम्भिक छनौटमा परेका १४ जना युवा चित्रकारले सहभागिता जनाएका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी गराएका छन् । प्रतियोगीहरुले “समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा” शिर्षकमा केन्द्रीत रही चित्र बनाएका उनले बताए ।

प्रतियोगिता मूल्यांकन समितिको निर्णय अनुसार तोयराम बिष्ट प्रथम, कर्मा टाँसी गुरुङ द्वितीय, शोभना खड्गी तृतीय र समी शर्माले सान्त्वना स्थान हासिल गरेका परिषद सदस्य ललिता साहले जनाएकी छन् । उनीहरुलाई बुधबारै समापन कार्यक्रमकाबीच प्रमाणपत्र र नगदसहित पुरस्कृत गरिएको छ ।
परिषदले स्थापना दिवसका अवसरमा चित्रकला प्रतियोगिता गर्नु मनोरन्जन मात्र नभई युवाहरुलाई आफ्नो सोच, भावना र दृष्टिकोण क्यानभासमार्फत अभिव्यक्त गर्ने अवसर भएको परम्परागत शीपमा आधारित युवा संजालका संयोजक राज कार्कीले बताएका छन् ।
प्रतियोगितामार्फत आफ्नो प्रतिभा प्रदर्शनको अवसर प्राप्त भएको भन्दै प्रतियोगी युवाहरुले यसले थप आत्मविश्वास र उर्जा थपेको प्रतिक्रिया दिए ।








