
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेसँगै बोर्डले राति ८ बजे नतिजा सार्वजनिक गरेको हो।
चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको परीक्षा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धि तर्फ ६७ हजार ७१५ जना सहभागी भएका थिए।
बोर्डका अनुसार कूल ४ लाख ९९ हजार १८३ परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।
नतिजामा ४८ हजार १७७ जना परीक्षार्थीले सबैभन्दा उच्च ग्रेड ३.६ देखि ४.० जिपिए ल्याएका छन्। त्यस्तै,
३.२–३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना,
२.८–३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना,
२.४–२.८ जिपिए ल्याउने ४८ हजार ४७९ जना,
२–२.४ जिपिए ल्याउने ४ हजार १२६ जना,
१.६–२ जिपिए ल्याउने ८ जना विद्यार्थी रहेका छन्।
यसपटक १२६ परीक्षार्थीको परीक्षा रद्ध गरिएको छ भने १ लाख ६७ हजार ५९७ विद्यार्थीको नतिजा अबर्गीकृत (non-graded) भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए।

नतिजा हेर्ने तरिका
एसईईको नतिजा एसएमएस, आईभीआर (IVR) र वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।
एसएमएसमार्फत हेर्न
विद्यार्थीले आफ्नो Symbol Number टाइप गरी तलका नम्बरहरूमा पठाउन सक्नेछन्:
नेपाल टेलिकम: 1600
जाँकी टेक्नोलोजी प्रा.लि.: 35001
आकाश टेक प्रा.लि.: 34455
अल स्टार आईटी सोलुसन्स प्रा.लि.: 34949
त्यस्तै, नेपाल टेलिकमको 1600 मा डायल गरी निर्देशनअनुसार थिचेर पनि नतिजा सुन्न सकिन्छ।