काठमाडौं इन्जिनियरिङ कलेजका सबै कार्यक्रमले पाए स्थायी मान्यता

काठमाडौं इन्जिनियरिङ कलेज
काठमाडौं इन्जिनियरिङ कलेज

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित काठमाडौं इन्जिनियरिङ कलेज (KEC), ले इन्जिनियरिङ शिक्षा क्षेत्रमा एक ठूलो सफलता हात पारेको छ।

नेपाल इन्जिनियरिङ परिषद् (NEC) बाट कलेजले स्थायी मान्यता प्राप्त गरेको हो, जसले कलेजको शैक्षिक गुणस्तर र दीर्घकालीन विश्वासलाई थप मजबुत बनाएको छ।

त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त यस कलेजले सञ्चालन गर्दै आएको पाँचवटा प्रमुख कार्यक्रम—बी.ई. सिभिल (९६ सिट), बी.ई. इलेक्ट्रिकल (४८ सिट), बी.ई. इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेशन (९६ सिट), बी.ई. कम्प्युटर (९६ सिट),बी.ई आर्किटेक्चर (४८ सिट) रहेका छन् । यी सबैलाई परिषद्को स्थायी मान्यता प्राप्त भएको हो ।

शैक्षिक उत्कृष्टताको परिचय दिंदै आएको यस् कलेजले नेपालकै पहिलो ISO प्रमाणपत्र प्राप्त इन्जिनियरिङ कलेजको रूपमा प्रतिष्ठा बनाइसकेको छ। हालै प्रकाशित अन्तिम सेमेष्टर नतिजामा पनि KEC ले शानका साथ आफूलाई अब्बल नतिजासहित प्रमाणित गरेको छ।

नतिजा यस्तो छ :

आर्किटेक्चर: १००% पास

कम्प्युटर: ९५.४५% पास

सिभिल: ९३.४८% पास

इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेशन: ९०.९१% पास

इलेक्ट्रिकल: ७७.७८% पास

यस कलेजका विद्यार्थीहरू प्रत्येक सेमेष्टरमा देशभरकै शीर्ष नतिजामा नाम रहदै आएका छन्, जुन कलेजको दक्ष व्यवस्थापन, अनुभवी शिक्षकमण्डल र प्रतिबद्ध विद्यार्थीहरूको प्रतिफल हो।

कार्यक्रमको जानकारी
काठमाडौं इन्जिनियरिङ कलेजमा यहीँ असार २८ गते स्वागत तथा विदाइ कार्यक्रम र असार २९ गते साँगीतिक कार्यक्रम आयोजना हुने भएको छ।

उक्त जानकारी कलेजका एसोसिएट प्रोफेसर इ. श्रीकृष्ण सुलुले दिएका हुन्।

सोही अवसरमा कलेजले प्राप्त गरेको सफलताको उत्सव मनाउने तयारी रहेको छ ।