भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विस्तृत अवलोकन गर्दै देशभरका विद्यालय सुधारका लागि ठूला निर्णय र स्पष्ट निर्देशन दिएका छन्।
केन्द्रमा झण्डै तीन घण्टा लामो छलफलमा सहभागी हुँदै मन्त्री पुनले शिक्षकहरूको दरबन्दी मिलान, विद्यार्थी संख्या अत्यन्त न्यून भएका विद्यालयहरूको मर्जर (एकीकरण) प्रक्रिया, र योग्य तथा सक्षम प्रधानाध्यापकहरूको पारदर्शी नियुक्ति प्रणालीका लागि देशव्यापी कार्यविधि बनाउन निर्देशन दिएका महानिर्देशक कृष्णप्रसाद काप्रीले बताए ।
मन्त्री पुनले अनलाइन सिकाइ र डिजिटल शैक्षिक सामग्री निर्माणमा जोड दिन पनि आदेश दिएका दिए ।
त्यसैगरी, बुधबार मन्त्री पुनले पाठ्यक्रम विकास केन्द्रमा दुई घण्टा लामो छलफल गर्दै पाठ्यक्रम निर्माण र परिमार्जनका विषयमा विशेष निर्देशन दिए।
“सामुदायिक र संस्थागत विद्यालयका पाठ्यक्रमहरू तयार गर्दा अत्यन्त गम्भीर भएर काम गर्नुपर्छ। पाठ्यपुस्तकमा नैतिक, व्यावहारिक, ऐतिहासिक र संवैधानिक ज्ञान समेटिनु जरुरी छ।” उनले भने ।
मन्त्री पुनले मातृभाषामा पाठ्यपुस्तक विकासमा सहयोग पुर्याउने प्रतिबद्धता जनाउँदै आगामी वर्षदेखि कक्षा ९ र १० मा कम्प्युटर विषयलाई १०० अंकको अनिवार्य विषयका रूपमा लागू गर्ने तयारी भैरहेको जानकारी दिएका छन्।
उनको यो पहललाई शैक्षिक सुधारतर्फको ठोस कदमका रूपमा लिइएको छ। शिक्षा क्षेत्रमा प्राविधिक र व्यावहारिक पक्षलाई सशक्त बनाउने उद्देश्यसहित मन्त्री पुन अघि बढेका छन् ।







