सरकारले रद्द गर्यो सोमबारको बिदा, सरकारी कार्यालय खुल्ने

काठमाडौँ । सम्भावित विपदबाट बच्न सरकारले दुई दिनका लागि दिएको सार्वजनिक बिदामध्ये सोमबारको बिदा फिर्ता लिएको छ ।

गृह मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार आइतबार देशभर मनसुन प्रतिकूल नदेखिएपछि सोमबार सार्वजनिक सेवा सुचारु गर्ने निर्णय गरिएको हो । उनका अनुसार विपद उत्पन्न नभएका जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारी सेवा सञ्चालन गर्न परिपत्र गरिएको छ ।

गृह मन्त्रालयले अघिल्लो सूचना जारी गर्दै आइतबार र सोमबार सार्वजनिक बिदा घोषणा गरेको थियो । तर, आइतबारको मौसम स्थिति सामान्य रहेपछि सोमबारको बिदा कटौती गरिएको आचार्यले पुष्टि गरे ।

यद्यपि, मन्त्रालयले बिदा फिर्ता गरिएको सम्बन्धमा कुनै नयाँ औपचारिक सूचना सार्वजनिक गरेको छैन । ननस्टपखबरसँग कुरा गर्दै सहायक प्रवक्ता आचार्यले भने, “बिदाको आवश्यकता नदेखिएका जिल्लामा सोमबारदेखि नियमित सेवा सञ्चालन गराउन जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिएको छ ।”

दुई दिन बिदा हुने ठानेर दशैं बिदाबाट अझै नफर्किएका कर्मचारीका कारण केही कार्यालयहरू सोमबार खुलेपनि आंशिक सेवा मात्र सञ्चालन हुने सम्भावना रहेको छ ।

विद्यालयहरू भने कोजाग्रत पूर्णिमासम्म विदामा रहेका कारण सरकारले सार्वजनिक बिदा फिर्ता गरे पनि त्यसको असर नपर्ने बताइएको छ ।