अवरुद्ध बिपी राजमार्गमा डाइभर्सन बनाउने प्रयास, पूर्व जान बैकल्पिक मार्गको प्रयोग

काभ्रेपलान्चोक । काभ्रेको चौकीडाँडा लगायतका दर्जन बढी स्थानमा रोशी खोलाले सडक कटान गर्नुकासाथै गत वर्ष बनाएको पुरानो डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ ।

चौकीडाँडा देखि नेपालथोक सडक खण्डमा राजमार्ग अवरुद्ध भएको हो ।

अवरुद्ध सडक सुचारुको लागि सोमबारबाट डाइभर्सन बनाउन प्रयास भैरहेको सडक डिभिजन भक्तपुरले जनाएको छ । डिभिजन प्रमुख सुमन योगेशले दिएको जानकारी अनुसार प्राविधिक टोलिले डाइभर्सन बनाउन प्रयास गरिरहेका छन् ।

रोशीको बहाव घट्दो क्रममा रहेकोले डाइभर्सन बनाउन प्रयास भैरहेको उनले बताए । प्रमुख योगेशले बताए अनुसार गत वर्ष बनाएका डाइभर्सन सबै बगेका छन् ।

दुई तीन दिनमै सडक सुचारु गर्ने सडक डिभिजनले तयारी गरेको भएपनि गत वर्षको अनुभवका आधारमा कम्तिमा एक साता लाग्न सक्ने स्थानीयले अनुमान गरेका छन् ।

बिपी राजमार्गको नेपालथोक- चौकी डाँडा खण्ड अवरुद्ध भएपनि पूर्वबाट आउने यात्रीहरु खुर्कोटबाट रामेछाप,दोलखा हुँदै धुलिखेल जोडिने बैकल्पिक मार्ग प्रयोग गरिरहेका छन् ।