सुमेरु सहकारी संचालकबाट १५ अर्ब ६० करोड ठगी भएको भन्दै कार्वाहीको माग

काठमाडौँ । सुमेरु बचत तथा ऋण सहकारी लिमिटेडका बचतकर्ताहरुले संचालकहरुले ठगि र संगठितरुपमा अपराध गरेको भन्दै कारवाहीको माग गरेका छन् ।
 
उनीहरुले आफूहरुको १५ अर्ब ६० करोड बचत संचालकको मिलेमतोमा हिनामिना गरेको भन्दै छानबिन गर्न सरकारसँग माग समेत गरेका छन् ।
 
बिहीबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सहकारी संचालकले लाखौं बचतकर्ताको अर्बौ ठगि गरेको भन्दै सरकारले फिर्ताको लागि पहल गर्नुपर्ने बताए ।
 
सरकार कडारुपमा प्रस्तुत नभएकै कारण ठगहरु खुलमखुला हिडिरहेको उनको भनाइ छ ।
सहकारी पीडितको बचत फिर्ताको लागि सरकारले कडारुपमा प्रस्तुत हुनुपर्छ । संचालकले संगठितरुपमा बचत अपचलन गरेका छन् ।
 
सरकारले जेलमै कोचेरै भएपनि बचत फिर्ता गर्नुपर्छ’ खनालले भने ।
पीडित बलराम राजभण्डारीले सरकारले नचाहेकै कारण बचतकर्ताहरुले बचत फिर्ता नभएको बताए ।
 
‘जनताको बचत हिनामिना गर्नेहरु नै यही वरपर बसेका छन्, तर सरकारले कारवाहीको नगरेकै कारण ठगहरुको मनोबल बढेको छ । सरकारले जनताको बचत फिर्ताको पहल गर्नुपर्छ’ राजभण्डारीले भने ।
 
बचतकर्ताको बचत हिनामिना गरेपछि पीडितको मागअनुसार सहकारी समस्याग्रस्त घोषणा भइसक्दा पनि संचालकहरु उल्टाउन अदालत पुगेको बताए । बचतकर्ताकै रकम दुरुपयोग गरेर संचालक १४ जना कानुन व्यवसायीहरु लगाएको आरोप राजभण्डारीले लगाए ।
 
संचालकले समस्याग्रस्त अवस्थाबाट उल्टाउन अधिकांश नक्कली बचतकर्ताको हस्ताक्षर बोकेर अदालत पुगेको राजभण्डारीले बताए ।
 
‘हाम्रो बचतको सुरक्षाको लागि हामीले दुई बर्षदेखि कुरा उठाएर सरकारले समस्याग्रस्त घोषणा गरेको थियो तर थप ठगी गर्न नक्कली बचतकर्ताको हस्ताक्षर बोकेर संचलकहरु अदालत पुगेका छन्’ राजभण्डारीले भने ।
 
पीडित तथा वित्तीय अपराध अनुसन्धानकर्ता सुनिल स्थापितले सुमेरुमा संचालकहरुले संगठित रुपमा बचत हिनामिना गरेको बताए । सुमेरुमा कसरी संगठितरुपमा पीडितको बचत अनियमितता कसरी भयो भन्ने विवरण सार्वजनिक गर्दै स्थापितले जनताको बचत हत्याउने उद्देश्यले संचालक संगठित रुपमा ठगि गरेको बताए ।
 
उनले भरत महर्जन नेतृत्वको संचालक समितिदेखि हालसम्मका संचालकले पीडितलाई अल्मल्याउन र बचत पचाउनको लागि देखावटी झगडा गरिरहेको दाबी गरे ।
 
‘२०७६ सालमा संचालक समितिबाट राजिनामा दिइसकेको भरत महर्जन २०७९ पौस २२ गते बसेको संचालक समितिको बैठकमा उपस्थिति थिए । उक्त बैठकले ३ अर्ब ३९ करोड बचत रकम गैरकानुनीरुपमा कलेजमा लगानी गरेका थिए’ स्थापितले भने ।
 
महर्जनले सुमेरु डेभलप्र्सको जग्गा बच्च २०८१ बैशाख १४ गते सुनिल ढंगोललाई बेलायतबाटै अधिकृत वारिस दिएको बताए ।
 
‘यदि अभियुक्त अपराधि भरत महर्जनले २०७६ सालमा आफ्नो व्यवस्थपन कर्तव्यबाट पूर्णरुपमा राजिनामा दिएका थिए भने उनले २०८१ मा सुनिल ढंगोललाई जग्गा बेच्नको निम्ति वारिस कसरी दिए ?
 
यो स्वतः संगठित अपराधिको नमुना हो’ स्थापितले भने ।  
 
पीडित रिता गिरीले आफूहरुको बचत फिर्ताको लागि सरकारले ठगि गर्नेहरुलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन् । आफूहरुले श्रम गरेर जम्मा गरेको पैसामाथि संचालकले मोजमस्ती गरेको भन्दै  गिरीले बताइन् ।
 
पीडितहरुले बाहिर हल्ला गरेजसरी राजबहादुर सिंहले सहकारीको समित्व नलिएर गरेको बताए । उनीहरुले संचालकहरुकै योजनामा बचतकर्तालाई भ्रम छर्न सिंहलाई ल्याएको बताए ।