काठमाडौं । काठमाडौं-३१ शान्तिनगरस्थित बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाले नयाँ नेतृत्व निर्वाचित गरेको छ । शनिबार सम्पन्न संस्थाको २९ औं वार्षिक साधारण सभाबाट ताराप्रसाद घिमिरेको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित भएको हो ।
घिमिरे अघिल्लो सञ्चालक समितिमा उपाध्यक्ष रहेका थिए । संस्थाको संस्थापक सदस्य समेत रहेका घिमिरे महालेखा परीक्षकको कार्यालयका सेवा निबृत्त निर्देशक हुन् ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा कृष्णमुरारी घिमिरे, सचिवमा हरिप्रसाद घिमिरे र कोषाध्यक्षमा तारादेवी थपलिया भेटवाल निर्वाचित भएका निवर्तमान अध्यक्ष ऋषिराज घिमिरेले जनाएका छन् । त्यस्तै सञ्चालक समिति सदस्यहरुमा श्रीभा नेपाल न्यौपाने, नारायणप्रसाद घिमिरे, कल्पना खनाल, विकास घिमिरे र दीपक आचार्य निर्वाचित भएका उनले जानकारी दिए ।
सिङ्गो सञ्चालक समिति नै निर्विरोध निर्वाचित भएको निवर्तमान अध्यक्ष ऋषिराज घिमिरेले बताएका छन् ।
साधारण सभाले तीर्थराज घिमिरेको संयोजकत्वमा चेतनाथ घिमिरे र दीपिका पोखरेल काफ्ले सदस्य रहने तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति समेत निर्विरोध निर्वाचित गरेको बताइएको छ ।
नवनिर्वाचित समितिलाई निवर्तमान अध्यक्ष ऋषिराज घिमिरेले सपथ ग्रहण गराएका थिए । उनी नेपाल बचत तथा ऋण सहकारी संस्था महासंघ(नेफस्कुन)का पूर्व केन्द्रीय अध्यक्ष पनि हुन् ।
काठमाडौ जिल्लाभरी कार्यक्षेत्र रहेको बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थामा २ हजार ८ सय ८४ जना शेयर सदस्य रहेका छन् । शान्तिनगरमा आफ्नै सेवा भवनबाट सेवा पुर्याइरहेको यसले जोरपाटीमा शाखा बिस्तार गरेको छ ।
४ करोड १२ लाख २३ हजार २ सय रुपैयाँ शेयर पुजी रहेको यस संस्थाको बचत संकलन करिब ३३ करोड छ भने संस्थाले सदस्यहरुलाई साढे २४ करोड बढी ऋण लगानी गरेको छ ।
२९ वर्ष पुरानो बाबियाखर्कको कूल सम्पत्ति ४४ करोड ११ लाख ८२ हजार ६ सय ९ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । सहकारी संस्थाहरु देशब्यापी धराशायी हुँदा समेत बाबियाखर्कले जनबिश्वास कायम राखेको छ ।







