भक्तपुरको ताथलीमा तीन सवारीसाधन दुर्घटना, एकजनाको निधन

भक्तपुर । भक्तपुरको चाँगुनारायण- ९ ताथलीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

बिहीबार बिहान करिब १० बजेको समयमा च्यामासिंहबाट नाला तर्फ जाँदै गरेको बा. ९१ प. ८४१२ नं. मोटरसाइकलले विपरित दिशाबाट आँउदै गरेको प्रदेश ३-०२-०१४ प. ५०४३ नं. को स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालकको ज्यान गएको हो ।

ज्यान गुमाउने स्कुटर चालक चाँगुनारायण नगरपालिका वडा नं.९ सौडोलका १७ वर्षिय रिजन थुयाजु रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुन्डीराज नेउपानेले बताएका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते थुयाजुको उपचारको क्रममा मध्यपुर अस्पतालमा करिब साढे ११ बजेको समयमा ज्यान गएको उनले पुष्टि गरे ।

नालाबाट च्यामासिंह तर्फ आँउदै गरेको बा. प्र. ०२-०३६ प. ५३२७ नं. मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको स्कुटरमा ठक्कर खान पुग्दा झन् ठूलो दुर्घटना भएको एक प्रत्यक्षदर्शीले बताए ।

स्कुटरलाई अगाडीबाट ठक्कर दिने बा. ९१ प. ८४१२ नं. मोटरसाइकल चालक देश भारत घर भई हाल जिल्ला काभ्रेपलान्चोक बनेपा बस्ने वर्ष २४ को ईजार आलमको अवस्था सामान्य छ । स्कुटरमा पछाडीबाट ठक्कर खाने बा. प्र. ०२-०३६ प. ५३२७ नं. मोटरसाइकल चालक नुवाकोटको शिवपुरी गाँउपालिका वडा नं. २ घर भई हाल काठमाण्डौं गोकर्णेश्वर बस्ने वर्ष ४० को बिरे तामाङ घाइते भई ख्वप अस्पताल च्यामासिंहमा उपचाररत रहेका डिएसपी नेउपानेले जानकारी गराए।

सवारी साधन प्रहरी बृत्त जगातीको नियन्त्रणमा रहेका र थप अनुसन्धान भइरहेको उनले जनाएका छन् ।