विकास परियोजनाहरू तयार पार्दा वास्तविक आवश्यकतामा ध्यान पुर्याउन उपप्रधानमन्त्री सिंहको आग्रह

ललितपुर । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले इन्जिनियरहरूलाई राष्ट्रको आवश्यकता र जनताको मागअनुसार विकास निर्माणमा अग्रसर हुन आग्रह गरेका छन्।

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स एशोसिएसन (सिडेन)को दोस्रो राष्ट्रिय सम्मेलनलाई बिहीबार ललितपुरमा सम्बोधन गर्दै उनले भने, “निर्माण हुने संरचना र विकास परियोजनाहरू तय गर्दा नेपाली जनताको वास्तविक आवश्यकता के हो भन्नेमा ध्यान दिनुपर्छ।

इन्जिनियरले नवप्रवर्तन र प्रविधिमा पनि ध्यान दिनु जरूरी रहेको उनले बताएका छन् ।

उनले लोकतान्त्रिक मूल्य र मान्यताअनुसारको प्रणाली स्थापित नभएसम्म नेपालीको भविष्य सुनिश्चित नहुने भएकोले लोकतान्त्रिक ब्यवस्था बलियो बनाउन वर्तमान गठबन्धन बनाउनुपरेको बताए ।

जनताको प्राप्त अधिकारलाई सुरक्षित गर्दै राजनीतिक स्थायित्व र आर्थिक समृद्धितर्फ सरकारले ध्यान दिएको उनको दावी छ ।

कांग्रेस र कम्युनिस्ट मिलेर कमीकमजोरी सुधार गर्दै अघि बढ्नुपर्नेमा उनले जोद दिएका छन । गणतन्त्रको अधिकार सुरक्षित गर्दै दिगो विकास र जिम्मेवारीपूर्ण काममा लाग्नुको बिकल्प नभएको उनल्र बताए ।

कार्यक्रममा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले गुणस्तरीय निर्माणमा ध्यान दिनुपर्ने बताउँदै समयसापेक्ष कानून निर्माणमा बाधा बनिरहेका कानूनहरूलाई संशोधन गर्न सरकार तयार रहेको जानकारी दिए।

उनले भने, “देशको आवश्यकता मूल्याङ्कन गरेर काम गर्छौं। समृद्धि हासिल गर्न भारतसँग १५ हजार मेगावाट बिजुली व्यापारको बाटो खुलेको छ। एउटै आयोजना बुढिगण्डकी सुरु गर्दा १७ हजार रोजगारी सिर्जना हुन्छ। त्यसलाई महसुस गरेर हामी काम गरिरहेका छौं।”

उनले आन्तरिक झगडाहरू समाधान गर्दै विकास र समृद्धितर्फ अघि बढ्नुपर्नेमा पनि जोड दिए।

नेपाल इन्जिनियर्स एशोसिएसनका केन्द्रीय अध्यक्ष सुवासचन्द्र बरालले विकास निर्माणसँग जोडिएको शीर्षकमा आधारित यो कार्यक्रमले दिगो विकासमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले दिगो विकासका लागि राजनीतिक प्रतिबद्धता आवश्यक हुने धारणा पनि राखे।

बरालले सिडेनको सम्मेलनले इन्जिनियरिङ क्षेत्रका चुनौती समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सिडेनका अध्यक्ष इन्जिनियर लक्ष्मण के.सी.ले इन्जिनियरिङ क्षेत्रमा भएका सम्भावनाहरूको छलफल गरेर प्रविधि विकासअनुसार दिगो विकासका लागि भएका बाधाहरू हटाउन नीतिगत सुझाव दिन सम्मेलन आयोजना गरिएको बताए।

सिडेनका महासचिव इन्जिनियर थमनबहादुर खड्काले सिडेनमा हाल ९ हजार ६ सय ४६ जना इन्जिनियर सदस्य रहेको जानकारी दिए।

तीमध्ये बागमतीमा मात्रै ६ हजार ७ सयभन्दा धेरै सदस्य रहेका उनले बताएका छन् ।