आज लोकतन्त्र दिवस, राजधानीमा एमालेको ‘युथ सेलिब्रेसन’

काठमाडौं । लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंमा सत्तारूढ दल नेकपा एमालेले युवा महोत्सव आयोजना गरेको छ ।

देशैभरबाट काठमाडौं आएका युवाहरू भृकुटीमण्डपमा जम्मा भएर उत्सव मनाइरहेका छन् ।

एमालेले लोकतन्त्र दिवसलाई जनताले जितेको दिन, यूथ सेलिब्रेसनको रूपमा मनाउँदै छ । कार्यक्रममा सहभागी हुन काठमाडौंका विभिन्न स्थलमा जम्मा भएका युवाहरू लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डपमा भेला भएका हुन् । 

कार्यक्रमलाई एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र विभिन्न उमेर समूहका युवा नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

महोत्सवलाई एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलका साथै युवा र विद्यार्थी नेताले पनि सम्बोधन गर्ने छन् ।

कार्यक्रममा विभिन्न कन्सर्ट, झाँकी, नृत्य र गीतहरू समेत प्रस्तुत हुँदै छन् ।

एमालेमा युवा आकर्षण नभएको भन्ने आरोप खण्डन गर्न र  राजावादीहरुको पछिल्लो गतिविधि बिरुद्ध एमालेले लोकतन्त्र दिवसको अवसर पारेर आफ्नो युवा शक्ति प्रदर्शन गरेको हो ।