असारको धानखेत बन्यो साँगामा सडक, भक्तपुरबाट जाने गाडी यतै रोकिए

भक्तपुर । अरनिको हाइवे अन्तर्गत भक्तपुरको साँगामा सवारीसाधन आवागमन प्रभावित भएको छ ।

एकाबिहानै पहिरो खस्दा भक्तपुरबाट जाने सवारीसाधनलाई प्रहरीले बिहान ७ बजेबाट नै जगातीमा रोकेर राखेको छ भने उताबाट आउने सवारी साधन एकतर्फीरुपमा खुलेका छन् ।

निर्माणको क्रममा रहेको साँंगाको बाटो पहिरो खसेको माटोले थप चिप्लो बनाएपछि अझै केही घण्टा सवारी साधन जान नसक्ने भक्तपुर ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक प्रदिप खत्रीले बताएका छन् ।

“असारमा धान रोप्नेखेत जस्तो बाटो हिलाम्मे बनेकाले यताबाट जाने गाडी उकालो चढ्न नसक्ने अवस्था छ ।” ट्राफिक प्रहरी निरीक्षक खत्रीले भने । मोटरसाइकलसम्म पनि पास हुन सक्ने अवस्था नरहेको यतै रोकिएका उनको भनाइ छ ।

डोजरको प्रयोग गरी माटो पन्छाउने काम भईरहेको र बाटो खुल्न अझै केही घण्टा लाग्ने ट्राफिक प्रहरी निरीक्षक खत्रीले जनाएका छन् ।

बाटो बन्द हुँदा पूर्व जाने सयौ गाडी अलपत्र परेका छन् । कतिपय हल्का सवारी साधन भने ताथली नालाको बैकल्पिक बाटो हुँदै बनेपा निस्किएका छन् । बैकल्पिक बाटोमा पनि ट्राफिक जाम बढेको छ ।