भक्तपुर । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा दिनप्रतिदिन बढ्दै गएको छ। विशेष गरी भक्तपुर क्षेत्रमा धुलो र धुवाँको असरले गर्भवती महिला, असक्त, बिरामी, बालबालिका र जेष्ठ नागरिक जोखिममा छन् ।
वायु प्रदुषणले विद्यालय जाने बालबालिका, कामकाजी मानिस र पैदल यात्रुहरूको स्वास्थ्यमा प्रत्यक्ष असर देखिन थालेको छ । प्रदूषण फैलाउने माध्यमको कडा निगरानी र नियन्त्रण नगर्ने हो भने अवस्था अझै भयानक हुनसक्ने भक्तपुर अस्पतालका निमित्त डाइरेक्टर डा सुरेन्द्र भट्टको भनाइ छ ।
यसैबीच, प्रदुषण न्यूनीकरणका लागि भन्दै वन तथा वातावरण विभाग र ट्राफिक प्रहरीको संयुक्त टोलीले भक्तपुर क्षेत्रमा सवारी चेकजाँच तीव्र बनाएको छ। विशेष रूपमा अरनिको राजमार्गमा चल्ने गाडीहरूको धुवाँ जाँच गर्दै मापदण्ड विपरीत धुवाँ फाल्ने सवारीसाधनलाई कारबाही गरिएको भक्तपुर ट्राफिक प्रहरी प्रमुख प्रदिप खत्रीले जानकारी दिएका छन् । उनका अनुसार बिहीबार चेकजाँच गर्दा मापदण्ड पालना नगर्ने ३७ वटा सवारीमध्ये ११ वटाले उच्च धुवाँ फ्याक्ने देखिएको कारण कारबाही गरिएको छ ।
वन तथा वातावरण विभागका मेकानिकल इन्जिनियर लक्ष्मी श्रेष्ठका अनुसार डिजेलबाट चल्ने गाडीका लागि ६५ स्मोक डेनसिटीभन्दा तलको मात्रालाई पास मानिन्छ। तर भक्तपुर क्षेत्रमा अधिकांश गाडीहरूमा ६५ भन्दा माथिको डेनसिटी पाइएकाले स्थिति गम्भीर रहेको छ ।
स्वच्छ वायु प्रवर्द्धन अभियानका अभियन्ता नवराज काफ्ले जाँचपास भएका गाडीहरू समेत कालो धुवाँ फाल्दै गुडिरहेका बताउँछन् । स्टीकर दिने निकायले गम्भीरता पूर्वक काम नगरेका उनको आरोप छ ।
वायु प्रदूषणका कारण उपत्यकामा हरेक वर्ष पाँच हजार बढी मानिसले ज्यान गुमाइरहेका राष्ट्रका लागि दुई घण्टा अभियानका उपाध्यक्ष नरेश रन्जितले दावी गरे । तरपनि, राज्यका सम्बन्धित निकायले यसलाई कम महत्व दिएका र वायु प्रदुषण रोक्न पर्याप्त पहल नभएको उनको अनुभव छ ।
पछिल्ला दुई आर्थिक वर्षमा भक्तपुरमा मात्रै २ हजार ६ सय १४ वटा चारपांग्रे सवारीको जाँच गरिएको थियो, जसमा धेरैजसो मापदण्डमा फेल भएर कारबाहीको भागीदार बनेका थिए। मुख्य समस्या चेकजाँच नै कम हुनु भएको सम्बन्धित निकायका कर्मचारी नै स्वीकार गर्दछ्न । बिज्ञ नै चाहिने भएकोले सडकमा यातायात प्रदुषणको चेकजाँच सजिलो नभएको हो ।
मापदण्ड विपरीत सवारी सञ्चालन गर्नेलाई वातावरण संरक्षण ऐन २०५३ को दफा ४१, उपदफा २ अनुसार कडा जरिवाना गरिने वन तथा वातावरण विभागले जनाएको छ। तथापि, यस विषयमा अझै पर्याप्त बहस र पहल नहुँदा कतिपय सवारी चालकहरु बेखबर छन् र कतिपय अटेर गर्दै आएका छन् ।