श्री पद्ममा मिडिया र मानसिक स्वास्थ्यबारे अन्तरक्रिया

ललिता साह, भक्तपुर । बालबालिकासँग गर्ने सकारात्मक व्यवहार र पढाईमा सहयोग पुग्ने गरी अभिभावकत्व प्रदान गर्ने उद्देश्यले श्री पद्म माध्यमिक विद्यालय भक्तपुरले अभिभावकसँग मिडिया र मानसिक स्वास्थ्यबारे शनिवार छलफल गरेको छ ।

सो अवसरमा विद्यालयका प्राचार्य राम हाडाले साना बालबालिकालाई मोबाइलको लतबाट टाढा राख्नपर्नेमा जोड दिएका छन् । पढ्ने उमेरका विद्यार्थीहरूले पढाइलाई पन्छाउँदै मोबाइलमा फेसबुक ,इन्स्टाग्राम टिकटक, रिल्स लगायत बिभिन्न खेलका एप्लिकेसनमा आफ्नो समय बर्बाद गरिराखेका प्राचार्य हाडाले बताए । अभिभावकको निगरानी नहुदा बालबालिका बिग्रने खतरा रहेकोले मोबाइलबाट उनीहरूलाई टाढा राख्न प्राचार्य राम हाडाले सुझाव दिए ।

पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगबाट अभिभावक स्वयम् मोवाइलको लतमा फस्दै गएको र अभिभावककै देखासिखीले परिवारको बालबालिकामा समेत यसले प्रभाव पारेको सामाजिक / मनोविमर्शकर्ता तथा पत्रकार शिव प्रसाद उप्रेतीले बताए ।

 अभिमुखीकरणको विषय र छलफल अत्यन्तै उपयोगी भएको विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष मुक्तिबाबु महतोले बताए । यस्ता कार्यक्रमले अभिभावकलाई कसरी आफ्ना बालबालिकालाई मोबाइलको कुलतबाट बचाउने भन्ने ज्ञान दिने उनले बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामकृष्ण गोरा, नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिता साह लगायत विद्यालयका एक सय बढी अभिभावकका साथै विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।