भक्तपुर । नेपाली कांग्रेसको युवा दस्ता तरुण दलका पूर्व अध्यक्ष, पदाधिकारी एवं नेताहरुले भक्तपुरमा पुनर्मिलन कार्यक्रम गरी राजनीतिक परिस्थितिबारे छ्लफल गरेका छन् । नेपाली कांग्रेस कहिले माओवादी भएको र कहिले एमाले भएको भन्दै उनीहरूले कांग्रेस साच्चिकै कांग्रेस भने बन्न नसकेको बताए ।
पार्टी नेतृत्वलाई पूर्व तरुणको प्रश्न छ- “पहिले माओवादी अहिले एमाले, कांग्रेस मात्र हुने कहिले ?”
तरुण दल पूर्व अध्यक्ष बिनोद कायस्थको अध्यक्षतामा शनिबार भक्तपुरको सूर्यविनायकमा सम्पन्न कार्यक्रममा पार्टी नीति प्रधान नभई ब्यक्ति प्रधान बनेको र समस्याको जड नै यहाँबाट शुरु भएको निस्कर्ष निकालिएको एक सहभागीले बताए ।
पार्टी बिधान अनुरुप चल्न नसकेको र त्यसले देशको लोकतान्त्रिक शक्तिकोरुपमा रहेको नेपाली कांग्रेस आफै अलोकतान्त्रिक देखिएको प्रति बक्ताहरुले दुख व्यक्त गरेका थिए । महाधिवेशनको मुखमा बिभाग गठन र जिम्मेवारी बाड्फाड प्रति उनीहरुले असन्तुष्टि जनाए । कोषाध्यक्ष नियुक्त गर्न नसक्ने कार्यसमितिप्रति उनीहरुले खेद पनि प्रकट गरेका छन् ।
हाम्रा मात्र राम्रा भन्ने गुटबादी चिन्तनले राम्रा, बिद्रोही चेत र इतिहास बोकेका इमान्दार नेता कार्यकर्तालाई पाखा लगाइएको र यसले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर भएको उनीहरूको भनाइ छ ।
वक्ताहरूले तरुण दललाई पार्टीका नेताहरूले आफ्नो राजनीतिको भर्याङ मात्र बनाएका बताए । पार्टीमा गणेश प्रवित्ति रहेको र कांग्रेस जस्तो देखिनेहरुको भीडमा कांग्रेस हराएको उनीहरूको टिप्पणी छ ।
पार्टी सरकारमा रहेर पनि जनताको पक्षमा काम हुन नसकेको भन्दै नेताहरूले वर्तमान अवस्थामा जनतालाई सास्ती र बिचौलियालाई मस्ती भईरहेको बताए ।
भ्रष्टाचार संस्थागत हुने खतरातर्फ सचेत हुँदै नोटबन्दीमा जानुपर्नेमा बक्ताहरुले जोड दिए । उनीहरूले नेपाली कांग्रेसको नेतृत्वलाई जनताप्रति जवाफदेही बनाउँदै नीति र बिधान भित्र राख्न सके पार्टीको साख बढ्ने बिश्वास ब्यक्त गरेका थिए ।
पूर्व तरुण पुनर्मिलन कार्यक्रमका अध्यक्ष रहेका तरुण दलका पूर्व अध्यक्ष बिनोद कायस्थले नेपाली कांग्रेसलाई मजबुद बनाउन कार्यक्रम उपयोगी भएको बताए ।
वर्तमान संविधान र राजनीतिक परिवर्तन बिरुद्ध सडकमा राजावादीको प्रदर्शन दलहरुकै अलोकप्रियताको परिणाम भएको प्रष्ट पार्दै पूर्व अध्यक्ष कायस्थले डढेलो लागेपछि निभाउनु भन्दा डढेलो लाग्न दिनु नहुनेमा जोड दिए । लोकतन्त्रको बिकल्प अझ उन्नत लोकतन्त्र भएको भन्दै उनले लोककल्याणकारी योजना तथा कार्यक्रम कार्यान्वयनमा ध्यानाकर्षण गराइने जानकारी गराए ।
कार्यक्रममा तरुण दलका पूर्व नेताहरूले उठाएका सबै बिषयहरुलाई संकलन गरिएको र त्यसलाई दस्तावेजीकरण गर्दै पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारीहरुलाई बुझाउने उनले बताए । यसले पार्टीका आगामी कार्यदिशा र कार्यक्रम निमार्ण गर्न सहयोग पुग्ने कायस्थले बिश्वास व्यक्त गरेका छन् ।