काठमाडौ । नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा संलग्न नरहेको निष्कर्ष निकालेको छ। सोमबार पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखक निर्दोष रहेको निष्कर्ष सार्वजनिक गरेको हो।
बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकारहरूसँग कुरा गर्दै लेखकको संलग्नता नभएको विषयमा पार्टी विश्वस्त रहेको बताए। “उहाँ निर्दोष हुनुहुन्छ। भिजिट भिसा प्रकरणमा कुनै संलग्नता छैन भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौं,” महतले भने।
कांग्रेसले यो प्रकरणलाई ‘प्रशासनिक कमजोरी’ को रूपमा लिँदै मन्त्रीस्तरमा संलग्नता नरहेको निष्कर्षमा पुगेको हो। गृहमन्त्रीको नेतृत्वमाथि प्रश्न उठाएर सरकार अस्थिर पार्ने प्रयास भइरहेको भन्दै आन्तरिक एकता बलियो बनाउने निर्णय पनि बैठकले गरेको बताइएको छ।
५० हजार देखि ३ लाख सम्म प्रति ब्यक्ति पैसा असुलेर भिसिट भिसामा मानिसहरू बिदेश पठाउने धन्धा चलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलका अध्यागमन प्रमुख रहेका सहसचिव तीर्थराज भट्टराई लगायतमाथि अनुसन्धान अघि बढाएको छ ।
उनीहरूको कडी गृहमन्त्रीसंग जोडिएको भन्दै प्रतिपक्षी दलले मात्र नभई कांग्रेस नेता शेखर कोइराला लगायतले पनि गृहमन्त्री लेखकले राजिनामा गरि अनुसन्धानमा सहयोग पुर्याउनेपर्नेमा जोड दिएका छन् ।
यस अघि गृहमन्त्रीले राजिनामा दिएर अनुसन्धानको मार्ग प्रसस्त गर्ने कांग्रेस श्रोतले जानकारी दिएको थियो । प्रवक्ता महतले भने त्यसको पुष्टि गरेनन् ।