विराटनगर । मोरङको बेलबारी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल (क्रान्तिकारी) का कपिल विष्ट सभापतिमा निर्वाचित भएका छन्। उनले एमालेनिकट अनेरास्ववियुका उम्मेदवार प्रशान्त पोखरेललाई ३४ मतान्तरले पराजित गरेका हुन्।
निर्वाचनमा कूल ३७१ मत खसेको थियो।
स्ववियुको सचिवमा अनेरास्ववियुका अर्जुन कोइराला विजयी भएका छन् भने कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) कै नवराज थापा निर्वाचित भएका छन्।
यसअघि, बेलबारी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्वमा सर्वसम्मत स्ववियु गठन भएको थियो। तर, आन्तरिक विवादका कारण यस पटक नेविसंघले संगठन नै दर्ता गर्न सकेन।
यससँगै, अखिल (क्रान्तिकारी) ले मोरङ जिल्लाका ६ वटा क्याम्पसमा स्ववियु सभापति पद जितेको दाबी गरेको छ।