सर्लाहीको इन्दु शंकर चिनी उद्योगमा माओवादी केन्द्रको मजदुर संघ भारीमतले बिजयी

प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवनस्थित इन्दु शंकर चिनी उद्योग लिमिटेडमा नेकपा(माओवादी केन्द्र) को मजदुर संगठन आधिकारिक ट्रेड युनियन बन्न सफल भएको छ । आइतबार सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा भारी मतान्तर सहित माओवादी केन्द्र निकट अखिल नेपाल औद्योगिक मजदुर संघ निर्वाचित भएको हो ।

सत्तारुढ दल नेकपा (एमाले) निकट समग्र उद्योग ट्रेड युनियनलाई १ सय ३९ मतले पछि पार्दै माओवादी केन्द्रको अखिल नेपाल औद्योगिक मजदुर संघ आधिकारिक ट्रेड युनियन बन्न सफल भएको माओवादी केन्द्रका हरिवन नगर अध्यक्ष अर्जुन पन्तले पुष्टि गरेका हुन् ।

आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को अखिल नेपाल औद्योगिक मजदुर संघले २ सय ६ मत प्राप्त गर्दा नेकपा (एमाले)को समग्र उद्योग ट्रेड युनियन ६७ मतमै सीमित रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनमा यी दुई संगठन मात्र प्रतिस्पर्धामा उत्रिएका थिए ।

२६ वर्षदेखि चिनी उद्योगमा एकछत्र नेतृत्वमा रहेको एमाले निकट समग्र ट्रेड युनियनलाई पराजित गर्न अखिल नेपाल औद्योगिक मजदुर संघले १४ बुँदे चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको थियो ।

अत्याधिक बहुमतले निर्वाचित भएसंगै माओवादी केन्द्रका मजदुर नेताहरु उत्साहित भएका छन् । चुनावी प्रतिवद्धता पूरा गर्न कुनै कसर बाँकी नराख्ने उनीहरुले बताए ।

हेर्नुस् प्रतिवद्धता