भक्तपुर । नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशनले पनि अध्यक्षमा नारायणमान विजुक्छें ‘रोहित’ लाई नै निरन्तरता दिएको छ । भक्तपुरमा सम्पन्न आठौं अधिवेशनमा उनी पुनः सर्वसम्मतरुपले अध्यक्ष निर्वाचित भएका छन् ।
बि.सं. २०३१ सालमा बिजुक्छेंको नेतृत्वमा स्थापना भएको यो पार्टीमा आज सम्म आइपुग्दा पनि उनको बिरासत बोक्ने अर्को बिकल्प नभेटिएको हो । आठौं महाधिवेशनको बन्द सत्रले बिजुक्छेंको अध्यक्षतामा ३३ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाइँले जानकारी गराए ।
३ सदस्यीय पदाधिकारीको ब्यवस्था रहेको नेमकिपामा अध्यक्ष बिजुक्छें जस्तै सचिवमा प्रतिनिधि सभा सदस्य समेत रहेका प्रेम सुवालले निरन्तरता पाएका छन् भने कोषाध्यक्षमा मोहनप्रसाद प्रजापति पनि यथावत रहे ।
अघिल्लो सातौं महाधविशेनको २५ सदस्यीय केन्द्रीय समितिले नपुगेर आठौं महाधिवेशनले भने ३३ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित गरेको छ । अघिल्लो पटक बैकल्पिक केन्द्रीय सदस्य रहेका कृष्णबहादुर तामाङ र मुक्ति यादव केन्द्रीय सदस्यमा पदोन्नति भएका छन् ।
महाधिवेशनले भक्तपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष एवं अध्यक्ष नारायणमान बिजुक्छेंका भाइ योगेन्द्रमान विजुक्छेंसहित ५ जना नयाँ नेताहरूलाई केन्द्रीय सदस्य निर्वाचित गरेको छ । जसमा बखत थापा, रमेशकुमार रावल, केशेन्द्रप्रकाश कार्की र खड्गराज शाही रहेका छन् ।
महाधिवेशनले चार जना बैकल्पिक केन्द्रिय सदस्यहरु समेत निर्वाचित गरेको छ । बैकल्पिक सदस्यहरूमा मञ्जु चौधरी, विनोद विक, तुलसी खड्का र प्रकाश गुरुङ रहेका छन् ।
नवनिर्वाचित ३३ सदस्यीय केन्द्रीय समितिमा अघिल्लो २५ सदस्यीय समितिका २३ यथावत छन् । अघिल्ला समितिका केन्द्रीय सदस्यहरु सुनिल प्रजापति, नन्दवहादुर शाही, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, सनकमान महर्जन, खगेन्द्रबहादुर शाही, कृष्णकुमार बैद्य, सुरेन्द्रराज गोसाई, रवीन्द्र ज्याख्व, अनुराधा थापामगर, कमलमैयाँं सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सिर्जना सैंजू र सरोजकुमार शाह यथावत रहेका हुन् ।
महाधिवेशनबाट सात प्रदेशमा सात संयोजकहरु समेत तोकिएका छन् । कोशी प्रदेशमा उकेश कवां, मधेशमा सुनिल प्रजापति, बागमतिमा प्रेम सुवाल, गण्डकीमा डिल्लीप्रसाद काफ्ले, लुम्विनीमा हरिसुन्दर बासी, कर्णालीमा सरोजराज गोसाई र सुदुरपश्चिममा नवराज कोइराला संयोजक तोकिएका बताइएको छ ।
महाधिवेशनमा ५० जिल्लाहरुबाट करिव ३ सय ५० प्रतिनिधि पर्यवेक्षकहरु सहभागी भएका थिए । पहिलो महाधिवेशन रुपन्देही र पाचौं काठमाडौमा सम्पन्न गरेको नेमकिपाले अरु सबै महाधिवेशन भक्तपुरमा सम्पन्न गर्न सफल भएको छ ।
आठौं महाधिवेशन शुक्रबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भई मंगलबार लिवालीस्थित वल्ड दरवार ब्याङ्क्वेटको सभाहलमा समापन भएको हो ।
महाधिवेशनमा अध्यक्ष बिजुक्छेंले राजनीतिक प्रशिक्षण प्रदान गरे भने केन्द्रीय सदस्य सुनिल प्रजापतिले प्रस्तुत गरेको राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्बन्धबारेको प्रतिवेदन पनि सर्वसम्मत पारित भएको छ ।