सप्तरी । सप्तरीको सदरमुकाम राजविराजस्थित एक स्याउ गोदामबाट सयौं बोरा गाँजा बरामद गरिएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको निर्देशनमा प्रहरीले छापा हान्दा सो सफलता हात लागेको हो ।
बाबा भूतनाथ मन्दिर पस्ने गेट नजिक रहेको गोदाममा अनलोड गरिरहेको सामानप्रति शंका लागेर जाँचबुझ गर्न सिडिओ दाहालले प्रहरी प्रमुखलाई निर्देशन दिएका थिए ।
सप्तरीका प्रहरी प्रमुख रहेका एसपी ढकेन्द्र खतिवडाले गोदामभित्र सिट नभएको एउटा स्कर्पियो गाडी पनि फेला परेको बताएका छन् । त्यसका अलावा अन्य शंकास्पद मालबस्तु पनि भेटिएको उनको भनाइ छ ।
गोदाम तस्करीको समेत अखडा रहेको आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । गोदाम संचालक फरार छन् र प्रहरी खोजीमा लागेको छ ।