भक्तपुर । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ का क्षेत्रीय प्रतिनिधि तथा कांग्रेस निकट खेलकुद बिभागको बागमती प्रदेश समिति सदस्य गणेशहरि कुटुले पार्टी परित्याग गरेका छन् । ३ दशक लामो समयदेखि आवद्ध रहेको नेपाली कांग्रेस परित्याग गर्दै उनी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका हुन् ।
केक्युसिङ करातेका टु डन एवं राष्ट्रिय खेलाडी समेत रहेका मथिनपा-२ का सामाजिक ब्यक्तित्व गणेशहरिलाई नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतले माला र खादाबाट उनलाई स्वागत गर्दै उचित जिम्मेवारी दिने समेत बताएका छन् ।
सो अवसरमा अध्यक्ष प्रचण्डले खेलाडीहरु देशप्रेमले ओतप्रोत रहने र त्यो स्वभाव माओवादीसंग मात्र मिल्ने भएकोले खेलाडीहरुको लागि उपयुक्त पार्टी माओवादी केन्द्र मात्र भएको बताए । आफू पार्टीलाई जनतासंग जोड्ने अभियानमा रहेको र जनताको पार्टीप्रतिको क्रेजले उत्साहित बनाएको पनि उनले बताएका थिए ।
३६ बर्ष नेपाली कांग्रेसमा दिँदा आफ्नो उमेर ढल्किएको तर देश र जनतालाई कांग्रेसको झुक्याउने मात्र काम गरेको उल्लेख गर्दै नवप्रवेशी गणेशहरिले गणतन्त्रको असली गोठालो माओवादी केन्द्र र देशको राजनेता प्रचण्ड मात्र भएको निस्कर्षसहित माओवादी केन्द्रका प्रवेश गरेको प्रष्ट पारे ।
सो अवसरमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दिपशिखा), वाइसीएल भक्तपुर जिल्ला ईन्चार्ज एवं पार्टीको जिल्ला समिति सदस्य नरेश रंजितका साथै वाइसीएल नेताहरू राजु कुटु र विकास लाखे लगायतको उपस्थिती रहेको थियो ।