सडक बिगार्ने र कोलाहल मच्चाउने ट्रिपरलाई काभ्रे प्रहरीको कारवाही

प्रेसर हर्न बजाउदै कोलाहल मच्चाएर सडक दौडने ट्रिपरहरु कारवाहीमा परेका छन् । मंगलवार काभ्रे प्रहरीले उनीहरुलाई कारवाही गरेको हो ।

मंगलवार २ दर्जन बढी ट्रिपरको प्रेसर हर्न निकालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेको सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक राजकुमार श्रेष्ठले जनाएका छन् । पहिलोपटक सचेत गराउदै प्रेस हर्न निकाल्ने र सोही गल्ती दोहोर्याए आर्थिक जरिवाना गर्ने गरिएको उनले जानकारी गराएका छन् । मुख्य शहर बनेपा, धुलिखेल र पनौतीमा गाडीले बजाउने चर्को हर्नका कारण ध्वनी प्रदुषण भएको र सर्वसाधारण समेत आजित भएका भन्दै डिएसपी श्रेष्ठले प्रेसर हर्न निकाल्नु परेको जानकारी गराए ।

त्यस्तै काभ्रे प्रहरीले मापदण्ड बिपरित बढी भार बोक्ने ट्रिपरलाई समेत कारवाही गरेको छ । ”ओभर लोड बोकेका ट्रिपरलाई सामान खन्याउन लगाएका छौं ।” डिएसपी श्रेष्ठले भने । ओभर लोड बोक्नेलाई १ हजार ५ सय जरिवाना तिराउने सचेत गरिएको बताइएको छ । ओभरलोड टिपरका कारण सडकमा संरचना बिग्रने मात्र नभई सडकमा रोडा बालुवा झर्ने हुँदा सडक धुलाम्मे बन्ने र धुलो उड्दा पैदल यात्रु तथा दुई पाङ्ग्रेका चालकले सास्ती बेहोर्नुपरेको छ ।

डिएसपी श्रेष्ठले यसलाई अभियानकै रुपमा संचालन गरी काभ्रेमा प्रेसर हर्न बजाउन र ओभर लोड बोक्न ट्रिपरहरुलाई निरुत्साहन गर्ने बताएका छन् ।

Loading...