जब ‘थ्री पी’ अर्थात पुलिस (प्रहरी प्रशासन) प्रेस (पत्रकार) र पोलिटिसियन (राजनैतिक नेता) हरुले आफ्नो आदर्श र कर्तव्यलाई बिर्सिन्छन, तब समाजमा व्यभिचार, कदाचार, भ्रष्टाचार र अराजकता सक्दो मौलाउँछ । यसैले सबैखाले अपराधलाई न्यूनिकरण गरी समाज परिवर्तन गराउन यी थ्री पी जिम्मेवार मानिन्छन ।
अलग अलग भूमिकामा भएकोले होला यी तीनवटै ‘पी’ का अलग अलग आदर्श, मूल्य मान्यता स्थापित छन् । र, त्यसको पालनाका लागि अलग अलग आचारसंहिता पनि बनाइएका छन् । उनीहरु आफैले बनाएको संहिताले के गर्नुहुन्छ र हुँदैन भन्ने प्रष्ट पारेको छ । यसैले यी तीन ‘पी’ ले आआफ्नै आदर्श र धर्ममा बसेर कर्तव्य निभाउनुपर्दछ ।
पुलिस, पत्रकार, पोलिटिसियन इमान्दार भए अपराध अन्त हुन्छ भन्ने सबैलाई थाहा छ । दुष्ट प्रवृत्तिले घर गरेको समाजमा अपराध हावी हुन्छ । तर, त्यहाँ तीन ‘पी’ अर्थात पुलिस, पत्रकार र पोलिटिसियन असल भए भने अपराध चाँडै न्यूनिकरण हुन्छ र समाज असल बन्छ । यसैले पनि प्रष्ट हुन्छ– व्यभिचार, कदाचार, भ्रष्टाचार नियन्त्रण गरेर सदाचारी र सभ्य समाज बनाउन अति जिम्मेवार मानिएका यी तीन ‘पी’ को आपसी सम्बन्ध र सहकार्यको भूमिका महत्वपूर्ण हुने गर्दछ ।
तीन ‘पी’ को साँठगाँठ भयो भने कुनै एउटा समुदाय र निकाय मात्रै होइन, सिङ्गो देशको शासन नै कुशासनमा परिणत हुन्छ । कुशासनमा सोझा र निर्धाले न्याय पाउन सक्दैनन र बलशालीहरुले बाहुबलको शासन चलाउने सुनौलो मौका पाउँछन । जसले समाजलाई झन् झन् अपराधमा जाक्दै लान्छ र देश गरिबीको दलदलमा भासिन्छ । सर्वसाधारणको जीवन अत्यन्तै दुःख र त्रासपूर्ण बन्न पुग्छ । नेपालको इतिहासमा पटक पटक भएका विद्रोहका घटनाहरुले पनि यसलाई पुष्टि गरिसकेका छन् ।
सुशासनलाई बिर्सदा विद्रोह
पहिलो जनआन्दोलनमा एक भएर लडेका राजनैतिक दलहरुले प्रजातन्त्र प्राप्त गरेको केही वर्षमै सुशासनलाई बिर्सन पुगे । त्यत्तिखेर नेपाली प्रेस पनि धेरै सचेत र व्यावसायिक थिएन । यसैले ०५२ सालमा सशस्त्र जनयुद्धको भयङ्कर विद्रोह सुरु भयो । जसले गर्दा देशले १० वर्ष हिंसात्मक युद्ध भोग्नुप¥यो । तर, सौभाग्यवस २०६२ मा सशस्त्र जनयुद्ध गरेको माओवादी पार्टी र राजनैतिक दलहरुबीच १२ बुँदै सम्झौता भएपछि हिंसात्मक युद्धको अन्त भयो । त्यसपछि संयुक्त्त रुपमा भएको दोस्रो जनआन्दोलनबाट नेपालमा राजतन्त्र सदाका लागि अन्त ग¥यो र गणतन्त्र स्थापना ग¥यो । फलस्वरुप ०६४ मा पहिलो संविधान सभाको निर्वाचन भयो । पटक पटक म्याद थप्दा पनि देशले संविधान पाउन सकेन । ०७० मंसिर ४ मा फेरि दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भयो । देशमा नयाँ संविधान जारी भयो । सबैले देशमा संविधान जारी भएपछि पूर्ण सुशासन कायम हुन्छ भन्ने विश्वास लिए । तर, सङ्क्रमणकालको बाहानामा बढेको अराजकता र अपराध कार्य अन्त भएन । नयाँ सोच र तरिकाबाट कायमै रह्यो । नागरिकहरुले अझै नयाँ नेपालको अनुभूति व्यवहारमा भोग्न पाएका छैनन । अझै पनि देशको शासन पहुँचवालाहरुकै वरिपरि घुमिरह्रेको छ । भर्खरै सम्पन्न स्थानिय तहको पहिलो निर्वाचनपछि गाउँ गाउँमा सिंहदरवारको अधिकार पुगे पनि निर्धा र निमुखा नागरिकहरुले उपभोग गर्न पाउँछन भन्ने सुनिश्चित भएकै छैन । यसैले नयाँ नेपालमा हाल देखापरेका चुनौतीलाई हेर्दा देशलाई अग्रगमनतर्फ लानका लागि जिम्मेवार मानिएका तीन ‘पी’ हरुले अझै आफ्नो भूमिकालाई सन्तुलित रुपले सक्रिय बनाउँदै आपसको समीक्षा सहित सहकार्य गर्नुपर्ने आवश्यकता खड्किएको छ । अर्थात पत्रकार, पोलिटिसियन र प्रहरी प्रशासनको सक्रृय इमान्दार भूमिकाको अझै खाँचो बढेको छ ।
समाजमा अपराधको सेण्डिकेट
पत्रकार, प्रहरी र राजनैतिक नेताहरु सबै आआफ्नो क्षेत्रको कर्तव्यका लागि समाजमा जिम्मेवारीपूर्ण कामका किरा मानिन्छन् । यसैले उनीहरुले आफ्नो पेसा र सेवालाई निष्ठावान र आदर्शवान भएर धान्न सक्नुपर्दछ । तर, जब देशको निःशुल्क र निष्पक्ष सेवा गर्नेहरु सेवालाई पेसा बनाएर पेसाकर्मीहरु समेतलाई आफ्नो हातमा लिन सफल हुन्छन् र पेसाकर्मीहरु सेवा प्रदायकहरुसँग अपवित्र साँठगाँठ गर्न पुग्छन, तब सुरु हुन्छ समाजमा अपराधको सिण्डिकेट । नेपालमा हाल कमाउन र रवाफ देखाउन राजनैतिक पहुँचमा जाने होडवाजी, बिभिन्न ठेक्कापट्टाहरुमा भएको अराजकता र नामका लागि मात्रै पत्रकार बनि हिड्नेहरुको जमातदेखि प्रहरीको पोशाक लगाउन पाए । सेवालाई बिर्सेर शासकहरुले पनि गर्न नहुने अहंकारी र दम्भी व्यवहार प्रदर्शन गरेका घटना र गुनासाहरुले सुशासनमा सुधार गर्ने अभियन्ताहरुको खोजी भइरहेको प्रस्ट हुन्छ । आफ्नो विचार, सङ्गठन र पेसाको कर्तव्यबाट विमुख भएका यस्ताहरुको व्यवहारले समाजमा अपराध र अराजकता न्यूनिकरण गर्न भन्दा पनि बढाउन मलजल गरेको झै शङ्का हुन्छ । उनीहरुको रवाफिलो व्यवहारले गर्दा समाजमा नकारात्मक सोचले मौलाउने मौका पाइरहेको आभास हुन्छ । जब व्यावसायिक र आदर्शवादी भनिएका पेसा र कर्महरु बदनाम हुन्छन, तबदेखि नै समाजमा अपराधको बोलवाला सुरु हुन्छ । समाज भौतिक, नैतिक र आर्थिक रुपले असुरक्षित हुन्छ । सुरक्षाविद ‘ब्यारी बुझानेले भनेझै– ‘सुरक्षा भनेको खतराबाट मुक्त्तिको खोजी हो, यो वास्तविक र धारणागत खतरा एवम् ती खतरासँग तीनलाई निस्तेज पार्ने र जुध्ने क्षमतासँग सम्बिन्धित हुन्छ ।’ यसैले पनि होला अपराध हावी भएको समाजमा गरिखानेहरु मारमा परिरहेका हुन्छन भने डुलिखानेहरु धनी, नामी र मानी बनेर गज्जबले धाक रवाफ देखाउन पाइरहेका छन् ।
तीन ‘पी’ का आआफ्नै भूमिका
भनिन्छ ‘शरिर मरोस् तर मृत्यु नबाँचोस’ यसैले राज्यले देश र जनताका लागि प्रहरीको बिशिष्ट कर्तव्य बनाएर सोही अनुसार कार्य गर्न सपथ खुवाएर निर्देशन गर्ने गर्दछ । राजनीति गर्ने नेताहरुलाई पनि उनीहरुको पार्टीको आदर्शवान विचारले निर्देशन गरेको हुन्छ । अझ देशको शासनमा सहभागी भएका नेता, मन्त्री र तिनका कार्यकर्ताहरुले त राज्यको कानुनको झन् जिम्मेवारपूर्ण तरिकाले पालना गर्नु र गराउनुपर्छ । उनीहरुले सामान्य नागरिकले भन्दा उत्तम विचार र आदर्श धारण गरेर देश र जनताका लागि सुशासनलाई दिगो बनाउन लागि पर्नुपर्छ ।
देशको चौथो अङ्गको दर्जा दिइएको पत्रकारलाई त झन राज्यमा सबैलाई वाच गर्ने (सुक्ष्मरुपले निगरानी गर्ने) जिम्मेवारी राज्यले सुम्पेको छ । यसैले यो पेसा अरुभन्दा अलि बढी सम्मानित पनि मानिन्छ । तर, आजकल यो पेसामा पनि अरु दुई ‘पी’ मा झै पत्रकारिताको ‘पी’ मा पनि घुन लाग्न थालेको पाइन्छ । जसले यो पेसामा बिल्ला भिरेकाहरु कर्तव्यबाट च्यूत भएका गुनासाहरु बढ्न थालेका छन् ।
तर, आजकल असल समाज बनाउन लागि पर्नेहरु ‘पी’ को खाल ओढेर समाजमा अपराधलाई प्रोत्साहन दिनेहरु सजायको भागिदार पनि हुन थालेका छन् । तर, अझै न्यूनिकरण भने हुन बाँकी छ । राज्यका यी तीन ‘पी’ हरु अपराध विसङ्गती र विकृति डस्ने गोमन सर्प हुन । तर, उनीहरुले अपराध र अपराधीलाई डस्न छाडेर विषको थैलो नै बेचिदिए भने समाजमा अपराधले के र कस्तो रुप लेला जो कोहीले अनुमान लगाउन सक्छौ । यद्यपि आजकल यी सबै कुरालाई बुझेर नै होला प्रहरी पनि पहिलेभन्दा व्यावसायिक र कर्तव्यप्रति निष्ठावान बन्दै गएको पाइएको छ । सङ्गठनभित्र ‘शुन्य’ सहनशीलताको मात्रा तय गरेर काम कारवाहीहरु अगाडि बढाउनुले पनि प्रष्ट भएको छ । पत्रकारहरु पनि आफ्नो पेसाको आचारसंहिता पालना र व्यावसायिक निष्ठामा पहिलेभन्दा खरो देखिन थालेका छन् । उनीहरुले आफ्नो समाचार सङ्कलन, लेखन र सम्प्रेषण दक्षताको कला र दायरालाई बढाएका छन् । आफूले रुचाएको बिट र बिशिष्ट रिर्पोंटिङ सुरु गरेका छन् । समाजमा अपराध न्यूनिकरण गर्न सुरक्षाकर्मीहरुले जस्तै जोखिम पत्रकारहरुले पनि मोल्न थालेका छन । प्रहरीले बयानमुखी हैन, प्रमाणमुखी अनुसन्धानलाई अंगालेजस्तै पत्रकारहरुले पनि भनाइमुखी मात्र हैन, सत्य र तथ्यपूर्ण समाचारहरुको खोजी गरेर पस्कन थालेका छन् ।
लोभ ज्यूदोरहेसम्म भ्रष्टाचार कायमै
उखान भन्छ– ‘एक लोभी ज्यूँदो रहेसम्म भ्रष्टहरु भोकै मर्दैनन्’ यसैले पनि ठग र भ्रष्टहरु कुनै न रुपमा समाजमा देखा पर्ने गर्दछन् । साँठगाँठ बनाउँछन् र अपराधको सिण्डीकेट चलाउँछन । उनीहरु सधै कसरी आफ्नो वर्चस्व बढाउन पाईन्छ भनेर मौकाको खोजीमा हुन्छन् । यसैले उनीहरु तीन ‘पी’ को आवरणबाट सजिलै आफ्नो प्रवेश सुनिश्चित गराउन चाहन्छ । किनभने यसो गर्दा उनीहरु सुरक्षित र संरक्षित पनि हुन्छन् । उनीहरु अपराध नियन्त्रण गर्ने वाच गर्ने र नीति बनाउने निकायहरुलाई वशमा पार्न चाहन्छन । किनभने यी तीन पी बसमा पार्न सकेमा समाजमा अपराधी मनोवृत्तिको खुल्ला बोलवाला चल्छ । भ्रष्ट सञ्जाल अझै दह्रो भएर फैलान्छ । विश्वप्रसिद्ध पत्रकार ‘जोसेफ पुल्तिजर’ ले भनेका छन– “सबैैभन्दा बढी गोप्यता, अपराध, छलकपट, विभिन्न दाउपेच, ठगी र दावी विरोधहरुमा हुन्छन, यसले समाजलाई सधै अपराधको दिशामा लैजान्छ । यसैले पत्रकारले आफ्नो पेसाको धर्मलाई बुझेर सूचना कसरी लिने भन्ने सजगता अपनाउनु पर्दछ ।’
यस्तै संहिताहरु प्रहरी र राजनीतिज्ञका पनि हुन्छन् । तर, प्रभावशाली नेता, पत्रकार, पहुँचवाला प्रहरी हुँ भन्दै, ‘साहेव’ ‘दाइ’ र ‘कामरेड’हरुकोमा पुगेर चिल्लो घसेकै भरमा रवाफ देखाएर हिँड्नेहरुले समाज अगाडि जाओस् कि पछाडि नै रहोस् वास्ता गर्दैनन् । समाजमा अपराध घटोस कि बढोस् मतलब राख्दैनन् । राख्छन् त बस आफ्नो स्वार्थ कसरी पूरा हुन्छ र बढीभन्दा बढी लाभ कसरी लिन सकिन्छ । यस्ताहरुले आफ्नो दायित्व बुझ्दैनन र कर्तव्यलाई पूरै वेवास्ता गर्छन् । वास्तवमा पुलिस, प्रेस र पोलिटिसियनहरु सबैले आफुलाई बुझ्न आवश्यक छ । ताकि सहकार्यमा धोका नहोस् । देश र समाजले धोका नपाओस । आफ्नो पार्टी, पेसा, सङ्गठनको मर्यादामा आँच नपुगोस् र व्यावसायिक निष्ठा कायमै रहोस् । यसो हुन सकेमा तीन ‘पी’ को सहकार्यले समाजलाई सदाचारी बनाउन धेरै सहयोग पु¥याउँछ । तर, नेपालमा अझै यो असल संस्कार फस्टाउन पाएको छैन । जसले गर्दा एक अर्कामा अविश्वास र गर्ने, दुरुपयोग हुने र सम्बन्धमा सहकार्यको दुरी धेरै टाढा राख्ने चलन कायमै छ । विदेशमा नागरिक पब्लिक पुलिसिङ र पत्रकारिताले फड्को मारिसक्दा हामी अझै यो प्रयोग गर्नु ठिक कि बेठिक भन्ने बहसमै छौ । अझै पनि प्रहरीले अपराध नियन्त्रण र अनुसन्धानमा पत्रकारहरुलाई पनि दक्ष बनाउनुपर्छ र स्थानिय नेताहरुलाई पनि बुझाउनुपर्छ भन्ने पूर्ण व्यावसायिकता ग्रहण गरिसकेको छैन । अपराध भएमा पावरको प्रेसरमा काम गर्न रुचाउनु तर अपराध यसकारण गलत हो भनेर आफ्नो व्यावसायिक निष्ठा प्रर्दशन गर्न सकेको छैन । यसैले पनि अब प्रहरीले २०१२ को ऐनले भनेझै नागरिकसँग सम्बन्ध राख्न पाइदैन भन्ने अवधारणालाई पूरै फेर्नुपर्छ । अपराध अनुसन्धानका लागि सँगसँगै प्रशिक्षण लिने र दिने कार्यको थालनी गर्नुपर्छ । सूचना आदानप्रदानलाई बाक्लो बनाउनुपर्छ । असल राज्यले भन्छ– ‘सबै नागरिक प्रहरी र पत्रकार हुन ।’
तीन ‘पी’ को सम्बन्ध नैतिक र जिम्मेवार हुनुपर्छ
हामीकहाँ मात्र नभएर विश्वभरि नै तीन ‘पी’ को सम्बन्ध नैतिक र जिम्मेवारपूर्ण हुनुपर्छ भन्ने धारणा छ । तर पनि विश्वमा यी तीन ‘पी’ हरुले आफ्नो आचारसंहिता र नैतिकता उल्लङ्घन गरेका धेरै उदाहरणहरु छन् । यिनीहरु आफ्नो भूमिका निभाउने सन्दर्भमा सधै विभाजित र विवादित पनि भइरहेका छन् । त्यो कारण आउने भनेकै निष्ठाको अभावले हो । पत्रकारले प्रहरीले राम्रो अनुसन्धान नगरेको, बल प्रयोग गरेको, एक पक्षलाई मात्र साथ दिएको शक्त्तिको दुरुपयोग गरेको आरोप लगाउने गरेका छन् । प्रहरीले पत्रकारलाई पनि दक्ष र व्यावसायिक हुन नसकेको, आधार प्रमाण विना लेखेको, पूर्वाग्रही बनेको आदि अनेक आरोपहरु लगाउने गरेका छन् । नेता हुनु भनेको व्यावसायिक हुनु हैन, नैतिकवान र आदर्शवान हुनु हो । यसैले नेताहरु जहिल्यै पत्रकार र प्रहरी प्रशासनलाई प्रयोग गरेर आफ्नो स्वार्थ सिद्ध गर्न चाहन्छन् ।
बेलायतमा कन्जरभेटिभ पार्टीका नेता डेबिड क्यामरुनले फोन ह्याकिङ गर्ने पत्रकारलाई सल्लाहाकार बनाएका थिए भने लेवर पार्टीका नेता गार्डन ब्र्राउनले फोनह्याकिङ गरेर समाचार बिकाउने अखवारका सञ्चालकसँग राम्रो सम्बन्ध बनाएका थिए । उनीहरु दुबैको आशय आफ्नो पक्षमा प्रेसलाई प्रयोग गर्नु र बिरोधीको अहितमा समाचार लेखाउनु थियो ।
नेपालमा पनि नेताहरुले प्रहरी र पत्रकारलाई र पत्रकार र प्रहरीले नेताहरुलाई आफ्नो स्वार्थका लागि प्रयोग गरेका बग्रेल्ती उदाहरणहरु पाइन्छन । पत्रकारहरु आफ्नो पहुँचका लागि प्रहरी र नेताको नजिक हुन लालायित हुन्छन् । उनीहरु ठूला नेता र प्रहरी अधिकारीहरुसँग सङ्गत गर्न पाउँदा आफूलाई दम्भी भएको महसुस गर्छन् । नेताहरु प्रहरी र पत्रकार दुबैलाई काबुमा राख्न पाए भने जसरी भ्रष्ट शासन चलाउन पाउने योजनामा हुन्छन् । यसैले उनीहरु पत्रकारलाई वशमा राख्न भोजभतेर आयोजना गर्छन र सहयोगको प्रलोभन दिन्छन् ।
यो मामलामा प्रहरीहरु पनि कम हुँदैनन । आफ्नो कमजोरी लुकाउन र धेरै प्रगति देखाउन पत्रकारहरुसँग सङ्गत गर्न लालायित हुन्छन् । धेरै पत्रकारदेखि डराउँछन र सूचना लुकाउँछन । पत्रकारलाई प्रयोग गर्न चाहन्छन तर असल नियतले सहकार्य गर्न रुचाउँदैनन् । उनीहरु आफु अनुसारको पत्रकारसँग मात्र सङ्गत गर्न रुचाउँछन । केही टाठा प्रहरीहरु आफुले नराम्रो गरे पनि राम्रो भनाउन पत्रकारहरुको प्रयोग गर्छन् । नेता र पत्रकारलाई भोज खुवाउँछन । चाकरी बजाउँछन ।
यसैले तीन ‘पी’ हरुले गरेका यस्ता सबै कार्य गलत हुन । यसले आदर्श र पेसाको व्यावसायिक स्वाभिमान भन्दा झुठो शानमानलाई नै प्रोत्साहित गर्छ । कुशासनलाई मलजल गर्छ । सुशासनलाई टाढा भगाउँछ ।
तीन ‘पी’ ले निडर र निर्भिक भएर कर्तव्य निभाउनुपर्छ
समाजलाई सुरक्षा दिने, उन्नतशील बनाउने र सुसूचित गराउने तीन ‘पी’ हरु आफ्नो कर्मको धर्म र आदर्शप्रति दृढ निष्ठावान हुनैपर्छ । प्रहरी प्रशासनले अनावश्यक भय पालेर नेताहरुले जे भन्यो त्यो गर्न आवश्यक छैन । पत्रकार र मानव अधिकारकर्मीहरुदेखि परपर भाग्नु पनि पर्दैन । बस आफ्नो सङ्गठनको व्यवसायिक निष्ठालाई ख्याल गरे पुग्छ । पत्रकारहरुको दुरुपयोग र गलत नियतका पत्रकारहरुसँगको सङ्गत त्याग्नुपर्छ । सरुवा र बढुवाको लोभले नेताहरुको ‘जी हजुरी’ गर्नु भनेको व्यावसायिक मर्यादा विपरितको काम हो । यसले पेसाको निष्ठालाई घटाउँछ र क्रमशः कदाचारी बनाउँदै लैजान्छ । यसैले सानादेखि ठूलो ओहोदासम्मका सबै प्रहरीहरुले भएका ऐन नियममा रहेर निष्ठापूर्वक कर्तव्य निभाउन सक्नुपर्छ । अर्को कुरा प्रहरी भएकै भरमा नागरिकलाई सास्ती दिन पाउनुपर्छ र मानवअधिकार उल्लङ्घन गर्न दिनुपर्छ भन्ने पुरानो सोचलाई पनि छाडनुपर्छ ।
यसैगरी पहुँचवालाहरुसँग सम्बन्ध बनाउने र पहुँच बढाउने लोभमा पत्रकारहरुले पनि फस्न हुँदैन । नत प्रहरी र राजनैतिक नेताहरुले पत्रकारहरुलाई प्रभावित पार्न हुन्छ । अझ राजनैतिक नेताहरुले त सबैभन्दा बढी उच्च नैतिक आदर्शमा बस्न आवश्यक छ । सधैभरि राजनीतिमा सबैथोक जायज छ भनेर जे पायो त्यो गर्नु भनेको जनतालाई मुर्ख मान्नु हो । यो सुशासनका लागि राजनीति गर्नेहरुका लागि पटक्कै सुहाउने काम हैन । र, अब यस्तो सोचलाई नागरिकहरुले सधै मान्दा पनि मान्दैनन् ।
तीन ‘पी’ सधै होशियार !
अन्तमा संहिता सबैको आआफ्नै भएकोले, समाजलाई सदाचारी बनाउन आफै होसियार बन्नुपर्छ । गलत गर्नेहरुको पोल खोल्न सहकार्य गर्नुपर्छ । अभाव र दवाव सबैले भोग्नु परिरहेकै हुन्छ । फरक यत्ति मात्र हो कसैले सहज रुपमा स्वीकार्छन भने कसैले त्यसलाई बाधा मान्छन् र आत्तिन्छन । तर, अभाव र दवाव भयो भन्दैमा कसैले पनि आफ्नो मति छाडन हुँदैन । आउने बाधा अड्चनलाई आफैले साहसपूर्वक रुपमा सामना गर्नुपर्छ । किनभने हामीले समाजलाई अपराधमुक्त्त बनाउनु छ । जबसम्म समाजमा अपराध हाबी हुन्छ, तबसम्म परिवर्तनको अनुभूति सर्वसाधारण नागरिकहरुले गर्न पाउँदैनन् । यसैले त एक अज्ञात व्यक्त्तिले दुष्ट समाजलाई कडा व्यङ्ग्य प्रहार गर्दै भनेका छन– ‘कष्ट भन्ने शब्द त सभ्य समाजमा मात्र हुन्छ ।’
(लेखक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ)