म पत्रकार नभएको भए सायद डाक्टर, इञ्जीनियर, कुनै व्यवसायी वा नेतामध्ये केही हुन्थें भन्न खोजेको होइन । यहाँ भन्न खोजिएको गाँठी कुरो म पत्रकार वाहेक अन्य पेसाकर्मी भएको भए सायद अहिलेसम्म तपाईसामु यो संसारमा रहन्नथे होला । यसको मतलव पत्रकारिता गरेको पारिश्रमिकले बाँचेको छु भन्न खोजेको होइन । एकदशक अघि मेरो जीवनमा घटेको घटना मेरो यो अनुभूतिको गहिरो बोध हो । पत्रकारिताले नचिनिएको भए सायद एक दशकअघि नै मेरो जीवनलीला समाप्त हुन्थ्यो । २५ दिनसम्म होस्हवास् केही नभएको र निरन्तर तीन वर्षसम्म अपस्तालकै बेडमा हलचल र बोलचाल विना कसरी काटियो होला ? त्यो घटनालाई दस वर्षपछि वर्णन गर्नै गाह्रो छ । तर, शब्दमार्फत भए पनि दुःख व्यथाहरु पोखेर हलुङ्गो हुन खोजिरहेको छु ।
राम्रो जागिर पाउन पढ्नुपर्छ भन्दै एसएलसीमा गुल्टिएको मलाई घरकाले पुनः पढ्न लगाएका थिए । हाईस्कूल हुँदै इन्टरमिडियटपछि म पत्रकारितातिर जोडिए । पत्रकारिता विषय अध्ययन गरेर म पत्रकार भएको होइन । समाजशास्त्र र अर्थशास्त्र विषय लिएर काठमाण्डौंको त्रिचन्द्र कलेजबाट स्नातक गरेपछि साथीहरुको सङ्गतले पत्रकारिता सिक्ने प्रयासमा लागे । मेरो पत्रकारिताको पहिलो विद्यालय जनादेश सप्ताहिक थियो । डिल्लीबजारको एउटा रातो घरमा जनादेशको कार्यालय थियो । त्यही रातो घरको सङ्गतले पत्रकारितासँगै मेरो मनमा कम्युनिस्ट विचारधाराले जगसमेत भित्रभित्रै बनाइसकेको रहेछ । त्यो कुरा मलाई विस्तारै थाहा भयो । जनादेशमा काम गर्दा गर्दै म २०६४ को सुरआतमा केही अन्य मिडियामा डडेल्धुराबाट काम गरे । गोरखापत्रमा स्ट्रिन्जर रिपोर्टरका रुपमा मैले २०६४ मै काम सुरु गरे ।
२०६२/६३को जनआन्दोलन र ०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनले मेरो पत्रकारितालाई खरो तर निष्पक्षरुपमा सुदूरपश्चिममा चिनाइसकेको थियो । गोरखापत्रकासाथै जनादेश जनदिशा र स्थानीय सेम (सेती महाकालीको) आवाजमार्फत सुदूरपश्चिमेली गतिविधि राष्ट्रिय मिडियामा जोडिरहँदा म छोटो समयमै स्थानीयको आँखा बनिसकेको रहेछु । यसको थप पुष्टि पत्रकार साथीहरुले पत्रकार महासंघको सदस्यतासँगै जिल्ला शाखामा सल्लाहकारको पद दिएबाट भयो ।
२०६५ तिर अस्ट्रेलियन उर्जा कम्पनी स्मेकले निर्माणको काम थाल्ने भनेर चर्चित पश्चिम सेती जलविद्युत परियोजनाका लागि ठाउँ ठाउँमा सूचना केन्द्र स्थापना गरेको थियो । हालको सात नम्बर प्रदेशका डडेल्धुरा, डोटी, बझाङ र बैतडी जिल्लाको सीमामा पर्ने निर्माणस्थल ढुङ्गाडमा केही गोदाम घरसमेत निर्माण गरिएको थियो । परियोजनाको काम अगाडि बढाउने भन्दै समय समयमा अध्ययन टोली परिचालन हुँदै गरेको बेला गोरखापत्र राष्ट्रिय दैनिकको डडेल्धुरा जिल्ला समाचारदाता भएकाले मैले परियोजनाको स्थलगत रिर्पोटिङ गरी वास्तविकता पाठक सामु ल्याउनु आफ्नो कर्तव्य ठाने ।
२०६५ असोज ३ गते एक जना भाइलाई साथमा लिएर बिहानको १० नबज्दै मोटरसाईकलमा हिडियो डोटीको गोपघाटतिर । गोपघाटमा रहेको परियोजनाको सम्पर्क कार्यालयमा सूचना अधिकारीलाई नभेटेपछि सम्पर्क माग्दै उनी गएको स्थान दिपायलतिर लाग्यौ । धेरै मेहनत गरेपछि बल्ल दुई घण्टापछि उनीसँग भेट भयो । उनीबाट परियोजनासम्बन्धी जति जानकारी लिँदै गइयो उति धेरै कौतुहलता बढ्दै गयो । लाग्थ्यो परियोजनाको गतिविधिबारे आजै होइन, अहिले नै पाठक वर्गलाई जानकारी दिन पाए हुन्थ्यो । तर, सोचे बाँधस्थलको अवलोकन गरी विस्तृत समाचार विनाको रिर्पोट अधुरो हुनेछ । र, पत्रकारको धर्म सत्यताको नजिक पुग्नु पनि सम्झेर परियोजनाको बाँधस्थल ढुङ्गाड पुग्ने निधो गरे । जसका लागि राती गोपघाटमा बसेर भोलि उज्यालो नहुँदै उत्तरतिर उकालो लाग्ने योजना बनाए । योजना अनुसार नै करिव साँझको छ बजेको आसपास हामी दुई भाइ पुनः गोपघाटतिर नै फर्कियौं ।
दिउँसो टन्टलापुर घाम लागेको त्यो साँझ पानी प¥यो । हामी सुदूरपश्चिम सदरमुकाम दिपायलबाट पश्चिम घुइकिदै जाँदा वर्षाले पनि झिमझिम रुप लिँदै गयो । तर, हामीलाई के थाहा मोटरसाईकलमा दिपायलदेखि गोपघाटसम्मको आधा घण्टाको त्यो बाटो अनि झिमझिम वर्षा हाम्रो काल बनि पछ्याइरहेको छ भन्ने । हामी आफ्नै सुर र गतिमा गन्तव्यतिर अगाडि बढिरह्यौ । समूहगाडस्थित रेडियो नेपालको क्षेत्रीय स्टेशन कटेर कालागाड पुग्यौं । त्यहाँ झिमझिम वर्षा छल्न जाकेट र हेलिमेट मिलायौ । त्यसपछि पुनः उही गति पकड्दै अनियूल गाउँमा रहेको सानो गाउँले बजार पनि पार ग¥यौ ।
त्यस ठाउँबाट गोपघाटको गन्तव्य करिव डेढ÷दुई किलोमिटर मात्रै बाँकी थियो । त्यसैबीचमा एउटा मोड आउदै थियो । त्यो मोडभन्दा अलि पर एउटा महेन्द्रा जिप (लोकल रुटको सवारी साधन) आईरहेको मैले परैबाट देखेको थिए । विपरित साइडतिरबाट सेती नदी बगिरहेको थियो । म आफ्नै साइडमा थिए । उताबाट आएको जिप एकाएक मेरै साइडमा आउन थाल्यो । त्यसपछि मैले आफ्नो मोटरसाईकल रोक्न हात र खुट्टाको दुईटै ब्रेक लगाए । तर, उसले भने आफ्नो गति नियन्त्रण गरे । उसले न त रोक्यो न आफ्नो साईड समात्यो र हामी ठोक्कियौ । मेरो पछाडि बस्नुभएको साथी रोडमै लतारिनुभयो म मोटरवाइकसँगै भित्तामा बजारिए हुँला सायद ।
होसमा आउँदा म भारतको एक निजी क्लिनिकमा थिए । न चल्न सक्ने नही त बोल्न सक्ने अवस्थामा थिए म । सँगै रहनुभएका माईला दाइले भन्नुभयो– ‘अस्पताल पु¥याएको आज २४ दिनपछि आँखा खोलिस् । त्योभन्दा पहिलेका तीन दिन त बाटोमै थियौं ।’
म बेहोस अवस्थामा रहेछु । सबै कुरो बुझ्न सक्दैनथे । एकछिन सुनेको कुरो अलिपछि बिर्सन्थे । नाक र मुखको कामै थिएन, सास फेर्न त घाँटी काटेर पाईप राखिएको थियो । हात खुट्टा चल्दैनथे तर मस्तिष्क भने मरेको थिएन । अडेस लगाएर एकआधा घण्टा बस्न सक्ने अवस्थामै मेरो उपचारमा लागेका आफ्नतहरुले थप उपचारका लागि काठमाण्डौ लगे । काठमाण्डौंको टिचिङ अस्पतालमा भर्ना गरियो । चेकजाँचका लागि कहिलेकाहीँ नर्भिक, बीएण्डबी र मोडेल अस्पताल पुराइन्थ्यो । उपचारमा सम्लग्न स्वास्थ्यकर्मीहरु, भेट्न आउने साथीहरु र आफ्नतहरु मेरो प्रेरणा बने । नौं महिना लामो उपचारपछि लरबराउने बोली, नचल्ने शरीरको देब्रे भाग लिएर मलाई स्याहार गरिरहेकी जीवनसाथीको हातमा झुण्डिदै पहिलो पटक टिचिङ अस्पतालदेखि चक्रपथसम्मको सडक पेटीमा हिडे । त्यसरी हिड्दा कम्ती खुसी थिएन मनमा । तर, जहाँ गए पनि सँगै लैजानुपर्ने चार÷पाँच वर्षे छोरी अनि खाना बेल्न मात्रै होइन हलचल र दिसापिसाब गर्न नसक्ने लोग्नेको स्याहारमा रहेकी जीवनसाथी नन्दालाई कस्तो भइरहेको होला मैले कल्पनासम्म पनि गर्न सकिन । अहिले दस वर्षपछि पनि साथ र साहारा विना केही गर्न नसक्ने अवस्थाको म ती दिन सम्झन्छु ।
अहिले पनि मलाई लाग्छ कि म पत्रकारवाहेकको कुनै अफिसर, नेता वा व्यवसायी भएको भए सायद यी शब्दका माध्यमबाट अहिलेसम्म तपाई सामु रहन्नथे होला । धन सम्पतिवाला भएको भए यो भन्दा राम्रो ठाउँमा उपचार गरेर चाँडै निको भइन्थ्यो कि भन्नु भन्दा पनि म पत्रकार भनेर नचिनिएको भए सायद दुर्घटनास्थलबाट उद्धार नै हुदैनथ्यो होला भन्ने बढी सोच्छु । बाढी पहिरोले सडक बन्द हुँदा उद्धारमा आएको हेलिकप्टर पनि एकिन ठाउँ पत्ता लगाउन नसकी फर्किएको बेला स्थानीय बासिन्दा, त्यो बेलाका माओवादी लडाकुले बाटो पहिलाउँदै तीन दिनसम्म स्टेचर काँधमा बोकेर अस्पताल पु¥याएको याद आउँछ ।
त्यस्तै तत्कालीन गाविसमा आउने वजेट पाँचलाख मध्ये दुईलाख ४५ हजार मेरो उपचारमा सहयोग गर्ने गाविस संयन्त्र, अपाङ्गता जीवन बिताइरहेका मेरा गाउँलेहरुले आफुले पाउने सामाजिक भत्ता वापत एकमुष्ठ ४० हजार, देउसी भैलो खेलेर भए पनि मेरो उपचारका लागि रकम जुटाउने कैलालीका महिला सञ्चारकर्मी, नेपाल पत्रकार महासंघ, डडेल्धुरामा व्यानर घुमाउँदै आर्थिक सहयोग जुटाउने अग्रज पत्रकार दाजु डिआर पन्तलगायतको पत्रकार सहकर्मीको टीम, कैलालीका दीर्घराज उपाध्यायको टीम, केन्द्रमा गोविन्द अचार्य, पोषण केसीलगायतलाई बिर्सन सकेको छैन । म पत्रकार नभएको भए यतिका जनालाई मेरो चिन्ता हुँदैनथ्यो र म यमराज भनु या कालको मुखबाट छुटाकारा पाउँदैनथे । जे जस्तो अवस्थाको भए पनि म आज तपाईहरुको साथमा छु । मरिसकेको मान्छे पुनः यो धर्तीमा फर्काउनुभएको छ । गाउँ समाज वा साथीभाइसँगको मेरो सद्भावको व्यवहार स्वरुप मैले नयाँ जीवन पाएको छु, अब विगतको मेरो छवी नबिग्रने गरी बाँकी दिन बितुन । यही कामना ।
(लेखक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ)