सौराहामा केन्द्रीय साधारण सभा : चुनौतीसँगै अवसर

नेपाल पत्रकार महासंघको धुलिखेलमा सम्पन्न सातौँ पूर्ण बैठकले चितवनलाई केन्द्रीय साधारण सभा गर्ने स्थानको रुपमा तय ग¥यो । साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न स्थानीय व्यवस्थापनका हिसाबले चितवन शाखाका लागि यो ठूलो अवसर थियो । तत्कालीन अवस्थामा जिल्ला अध्यक्षको हैसियतबाट मैले यसलाई निकै चुनौतीका रुपमा पनि लिएको थिएँ । सँगसँगै हामीले पाएको जिम्मेवारीबाट कोही भाग्दैनन् भन्ने कुरामा म विश्वस्त थिएँ । साथै केन्द्रीय समितिको लगातारको सल्लाह, सुझाव र अध्ययन अवलोकनले हामीलाई स्थानीय रुपमा व्यवस्थापन गर्नसमेत निकै सहज भयो ।

सफल साधारणसभा

लेखक : हरीप्रसाद पाेखरेल

तीन वर्षअघि महासंघ चितवनमा नेतृत्व लिएपछिका अवधिमा हाम्रो कार्यसमितिको निर्णय कहिल्यै पनि एकलौटी भएन । सर्वसम्मत निर्णयका आधारमा महासंघको सङ्गठित यात्रा हामीले अगाडि बढाएका थियौँ । फलस्वरुप चितवनमा साधारण सभा गर्ने तय भएसँगै कार्यसमितिमा देखिएको खुसीले अन्ततः जिल्लाका सबै पत्रकार र सिङ्गो चितवनलाई समेत तान्यो । यो अवसरले चितवनलाई देशैभर चिनायो पनि । पत्रकार महासंघको साधारण सभा सम्पन्न गर्न यहाँका पत्रकारहरु दिनरात नभनी खटेका थिए । स्थानीय संघसंस्था र सञ्चारमाध्यमहरुले आफ्नैझै रेखदेख र सरसहयोग गरेका थिए । धेरैको सहयोग र साथ पाएपछि हाम्रो साधारण सभा सफल भएको हो ।

महासंघको केन्द्रीय साधारणसभा २०७३ वैशाख २१ गते चितवनको पर्यटकीय नगरी रत्ननगरमा सम्पन्न भएको थियो । उक्त साधारणसभाले महासंघको विधान समयसापेक्ष बनाउनको लागि उच्चस्तरीय समिति गठन गरेको थियो । विधानलाई पछि पाल्पामा भएको राष्ट्रिय भेलाले पूर्ण रुप दियो । सोही विधानलाई टेकेर आज हामी २५ औं महाधिवेशनमा सम्पन्न गर्दैछौ । नेपाली पत्रकारहरुको एकता र नेतृत्वको सुझबुझको कारण उक्त अवस्था सिर्जना भएको हो । यस हिसावले पत्रकार महासंघको चितवनमा सम्पन्न साधारणसभा इतिहासमै सफल मानिएको छ ।

साधारणसभाको उद्घाटन गर्न सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी चितवन आउनु, कार्यक्रममा तत्कालीन विभागीय मन्त्री सोमप्रसाद पाण्डे, व्यवस्थापिका–संसदका सभासद्लगायत विशिष्ठ अतिथिहरुको उपस्थिति हुनुले चितवन जिल्लाको महत्व र गरिमालाई अझै माथि उठायो । साधारणसभाको सफलताले चितवन जिल्लामा जस्तोसुकै कार्यक्रम सफलतापूर्वक सम्पन्न हुनसक्छ भन्ने प्रमाणित पनि गरायो । यसपटकको साधारणसभा चितवन जिल्लामा आयोजना गर्न हामीलाई अवसर र उत्प्रेरणा प्रदान गर्ने केन्द्रीय कार्यसमिति, साधारणसभा सफल पार्न अहोरात्र खटिने चितवनका पत्रकारहरु, महासंघले गठन गरेको विषयगत उपसमितिहरु, विभिन्न संघ–संगठन, होटल व्यवसायी र कर्मचारीहरु सबैको भूमिका उल्लेख्य रह्यो ।

यसरी सम्पन्न भयो ः साधारण सभा सम्पन्न गर्न स्थानीय स्तरमा विभिन्न १४ वटा उपसमितिहरु निर्माण गरियो । स्थानीय मूल व्यवस्थापन समितिको संयोजकमा हरिप्रसाद पोखरेललाई चयन गरिएको थियो । यसैगरी स्वागत सत्कारमा हरिप्रसाद पोखरेल, आर्थिक सङ्कलनमा दिपेन्द्र वडुवाल, आवास व्यवस्थापनमा जनक अर्याल, स्मारिका सम्पादनमा कृष्ण गिरी, स्मारिका र स्थानीय समन्वय व्यवस्थापनमा होमनाथ सापकोटा, सचिवालयमा सविता श्रेष्ठ, सञ्चार प्रविधिमा शान्ता अधिकारी, मञ्च सजावटमा अनिल ढकाल, यातायात व्यवस्थापनमा गोविन्द घिमिरे, भोजन व्यववस्थापनमा प्रविण दत्त, स्वयम्सेवक व्यवस्थापनमा रामकान्त पौडेल, मायाको चिनोमा प्रकाश सिग्देल, स्वास्थ्य शिविरमा प्रमिता ढकाल, स्टेशनरीमा दुर्गाकुमार रेग्मीलाई व्यवस्थापन गर्ने संयोजकको जिम्मेवारी दिइएको थियो ।

महासंघको चितवन शाखाले मात्र यति ठूलो साधारणसभा आयोजना गर्न सक्ने थिएन । यसका लागि चितवनका उद्यमी–व्यवसायी, स्थानीय निकाय, विभिन्न संघ–सङ्गठन र व्यक्तिहरुले समेत आर्थिक, नैतिक र भौतिक सहयोग गरेका छन् । चितवनले सबैको सहयोगको उच्च मूल्याङ्कन गरेको छ ।

साधारणसभामा भएको आम्दानी र खर्च पारदर्शी होस् भन्नका लागि छुट्टै बैंक खाता तयार गरिएको थियो । प्रभु बैंक, भरतपुरमा रहेको खाता नं. ०५४११६००७६६७५२०००००१ बाट साधारण सभाको आम्दानी खर्चको कारोबार भएको थियो । कारोबार सकिनासाथ आम्दानी खर्चको रजिष्टर्ड लेखा परीक्षकबाट लेखा परीक्षण गराएर सार्वजनिक गर्ने प्रतिवद्धतालाई हामीले पूरा गरेका छौँ । दर्तावाला लेखापरिक्षकबाट साधारणसभाको लेखापरिक्षण प्रतिवेदन समेत तयार पारी शाखाको ११ औँ अधिवेशनबाट पारित गरिसकिएको छ ।

‘उत्कृष्ट शाखा सम्मान’ः तीन वर्षअघि २०७० फागुन २१ गते सम्पन्न नेपाल पत्रकार महासंघ चितवन शाखाको १० औँ अधिवेशनले महासंघमा नयाँ कार्यसमिति निर्वाचित गरेपछि यसले सञ्चालन गर्ने तीन वर्षे योजनाकाबारे चितवनका पत्रकार मात्र होइन, नागरिक समाज समेत उत्सुक थियो । महासंघलाई श्रमजीवी पत्रकारहरुको पेसागत सङ्गठन बनाउने जिम्मेवारी त छँदै थियो, यसलगायत महासंघको संस्थागत विकास र चितवनमा दक्ष सञ्चारकर्मी उत्पादन गर्ने लक्ष्य पनि कार्यसमितिले लियो ।

हाम्रो कार्यकालमा देशभरका पत्रकार महासंघ शाखा मध्ये नेपाल पत्रकार महासंघ चितवन शाखा पहिलो पटक उत्कृष्ट हुन सफल भएको छ । महासंघको केन्द्रीय साधारणसभामा चितवन शाखालाई उत्कृष्ट शाखाको रुपमा सम्मान गरियो । राष्ट्रपति विद्यादेवी भण्डारीले कदरपत्र सहित दोसल्ला ओढाएर सम्मान गर्दा चितवनको २७ वर्षे महासंघको सङ्गठित यात्रा सम्मानित भएको महसुस भएको छ ।
यसैगरी व्यावसायिक र मर्यादित पत्रकारिताको विकास तथा श्रमजीवी पत्रकारहरुको हक हित र अधिकारका साथै महासंघलाई व्यावसायिक पत्रकारहरुको छाता सङ्गठनको रुपमा स्थापित गराउन चितवनले उल्लेखनीय कार्य गरेको भन्दै नेपाल पत्रकार महासंघ मध्यमाञ्चल क्षेत्रीय समितिले पनि चितवन शाखालाई ‘उत्कृष्ट शाखा–२०७२’ बाट सम्मान गरेको थियो । हाम्रो कार्यकालमा भएका यी दुबै सफलताले महासंघलाई भविष्यमा पनि अझ उच्च मनोबलका साथ काम गर्न प्रेरित गरिदिएको छ ।

सबैका लागि सन्देशः पत्रकारिता सबैको लागि आवश्यक पर्दछ । विना पत्रकारिताको मुलुक कल्पना पनि गर्न सकिन्न । उद्योगी, व्यवसायी र विकासप्रेमीका आवाज जनता र सरकार समक्ष पु¥याउने काम पनि पत्रकारिताको नै हो । समृद्ध देश बनाउनका लागि पत्रकारिता पुल बन्न सक्छ । सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि, स्थानीय मिडियाको स्तरोन्नति र स्वयम् पत्रकार महासंघकै संस्थागत विकास यस साधारण सभाको सन्देश हो । यो विषयलाई महाधिवेशनमा पनि छलफल गर्नु जरुरी छ । सबै निकायले पत्रकारितामार्फत आफ्ना आवाज, दृष्य र विवरण दिनका लागि सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि जरुरी छ । स्थानीय मिडियाको स्तरोन्नतिका लागि उनीहरुलाई व्यवसायिक प्राथमिकतामा राख्नु जरुरी हुन्छ । पत्रकार महासंघ आफ्नै संरचनामा अडिन सक्यो भने यसले चितवनको नागरिक समुदायलाई दिने सेवा अपेक्षाकृत बढि नै हुन्छ । महासंघका सबै जिल्ला शाखाले आफ्नो भवनलाई ‘आधुनिक सूचना केन्द्र’ बनाउनुपर्छ । नागरिक समुदायले आफ्नै सम्पत्तिको रुपमा बहन गर्न सक्नुपर्छ ।

पत्रकार महासंघको महाधिवेशन हरेक तीनवर्षमा एकपटक हुनुपर्ने व्यवस्था छ । प्रत्येक वर्ष बढ्दै गएको महासंघको सदस्य संख्या र सोही अनुपातमा निर्वाचित हुने केन्द्रीय प्रतिनिधिको संख्या पनि बढेका कारण हरेक कार्यकालमा एकपटक हुने साधारण सभा सम्पन्न गर्न चुनौतीपूर्ण बन्दै गएको छ । यति ठूलो संख्यालाई एउटै हलमा राखेर केन्द्रले सम्पन्न गरेका काम तथा योजनाहरु अनुमोदन गर्नुका साथै महासंघका महत्वपूर्ण नीति निर्माण गर्ने अवस्था सिर्जना गर्नु चानचुने छैन ।

(लेखक नेपाल पत्रकार महासंघ चितवन शाखाका निवर्तमान अध्यक्ष हुनुहुन्छ)

Loading...