पत्रकारिता संवेदनशील पेसा व्यवसाय हो । यसको सही सदुपयोगले नागरिक सुसूचितसहित सचेत हुन्छन् भने अलिकतिको लापरवाहीले समाज नै गलत दिशामा उन्मुख हुनसक्छ । त्यसैले भनिन्छ ‘पत्रकारिता भनेको सार्वजनिक महत्वका सत्यतथ्य सूचनासँग सरोकार राख्ने विधा हो ।’ पत्रकारिताको प्राथमिक उद्देश्य नागरिकलाई भरपर्दो सूचना उपलब्ध गराएर उनीहरुलाई स्वशासित बनाउनु नै हो । तर, कुनै चिज दुनियाँमा यस्तो छैन, जहाँ त्रुटी नभएको होस् । नेपाली पत्रकारिता पनि दुधले पखालिएको छैन । हाम्रा पत्रकारिताको पनि केही त्रुटी र कमजोरी छन् । त्यसकै निम्ति पत्रकार आचारसंहिताको जरुरी भएको हो । पत्रकारलाई उसको आचरणभित्र राख्न र सहीलाई सही लेख्न दवाव सिर्जना गर्ने औजारको रुपमा आचारसंहिता जारी गरिएको मानिन्छ ।
नेपालमा आचारसंहिताको आवश्यकता पत्रकारिता सुरु हुँदैताका गरिएको थियो । वि.सं. १९५८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री देव शमशेरले गोरखापत्रका लागि सनद जारी गर्न लगाएका थिए । गोरखापत्रमा के–कस्ता सामाग्री छाप्न हुने र नहुने विषयको निक्र्यौल सनदमा गरिएको थियो । त्यतिबेलाको परिस्थिति आजकोजस्तो अनुकूल थिएन । परिस्थितिअनुरुप तत्कालीन राणा शासन व्यवस्थाको प्रतिकूल नहुनेगरी अखबारमा सामग्री छाप्ने व्यवस्था गरिएको थियो । नेपाली प्रेसका लागि त्यो नै पहिलो आचारसंहिताको भूमिका खेलेको थियो भन्ने मान्न सकिन्छ । यद्यपि आचारसंहिता भने त्यो थिएन । वि.सं. २००८ सालमा सत्यनारायण बहादुर श्रेष्ठको संयोजकत्वमा तत्कालीन नेपाल पत्रकार संघ गठन भयो । निजी क्षेत्रबाट केही पत्रपत्रिका प्रकाशन हुन थाले । वि.सं. २०१४ सालमा गठित प्रेस कमिसनले पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्न पत्रकारिता आचारसंहिता निर्माणको आवश्यकता महसुस गरी १८ बुँदे सुझाव प्रस्तुत गरेको थियो । वि.सं. २०२३ मा तत्कालीन नेपाल पत्रकार संघले २२ बुँदे पत्रकार आचारसंहिता जारी गरेको थियो ।
वि.सं. २०२५ सालमा गठित प्रेस सल्लाहकार समितिले २१ बुँदे आचारसंहिता जारी गरेको थियो । २०२७ मा प्रेस काउन्सिल नेपालको स्थापना भएपछि २०३२ मा छापाखाना तथा प्रकाशन ऐन जारी भयो । सो ऐनले पत्रकार आचारसंहिताको निर्माण, कार्यान्वयन र अनुगमनको जिम्मेवारी काउन्सिललाई दियो । २०३३ सालमा २२ बुँदे अर्को आचारसंहिता जारी गरियो । २०४० मा ११ बुँदे छापाखाना र प्रकाशन आचारसंहिता जारी भयो । समयानुकूल आचारसंहितालाई परिमार्जन गर्दै वि.सं. २०४९, २०५५ र २०६० मा आचारसंहिता जारी गरिए । मुलुकमा लोकतन्त्रको बहाली भएपछि २०६४ मा परिमार्जनसहित आचारसंहिता जारी गरियो । २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि अनलाईन मिडियालाई समेत समेट्ने गरी २०७३ मा नेपाल पत्रकार महासंघको सहकार्यमा पुनः परिमार्जनसहित १३ बुँदे नयाँ आचारसंहिता जारी गरिएको छ ।
पत्रकारिता पेसालाई जिम्मेवार र जनमुखी बनाउन सबै मुलुकमा आचारसंहिताको अभ्यास गरिएका छन् । बीसौं शताब्दीको प्रारम्भदेखि नै युरोपेली मुलुकमा प्रेस विरुद्धका गुनासा सुनिएका थिए । प्रेसलाई जिम्मेवार बनाउन त्यसपछि आचारसंहिताको अभ्यास सुरु गरिए । सन् १९१६ मा स्वीडेनमा प्रेस काउन्सिल गठन भएको थियो । जुन संसारकै पहिलो काउन्सिल सावित भयो । दोस्रो विश्वयुद्धपछि बेलायतमा १९५३, जर्मनीमा १९५६, डेनमार्कमा १९६४, भारतमा १९६६, फिनल्याण्डमा १९६८, अष्ट्रेलियामा १९७६ मा प्रेस काउन्सिल गठन गरिए । त्यसमार्फत आ–आफ्नै देशमा आवश्यकताअनुसारका प्रेस आचारसंहिता निर्माण गरी जारी गरिए । अन्तर्राष्ट्रिय पत्रकार महासंघ गठन भएर त्यसले पनि आचारसंहिता निर्माण गरी जारी गरेको छ । पत्रकारले सामाजिक हितलाई ध्यान दिएर व्यावसायिक धर्म निर्वाह गर्नुपर्छ । समाजका गलत अभ्यासलाई निरुत्साहित गर्नमा पनि पत्रकार लाग्नुपर्छ भन्ने मुख्य ध्येय आचारसंहिताको देखिन्छ ।
खासमा पत्रकार आचारसंहिता व्यावहारिक निर्देशिका हो । त्यसले पत्रकारका व्यवहारका महत्वपूर्ण सवाललाई सम्बोधन गर्न दवाव दिन्छ । पत्रकार आचारसंहिता एउटा नैतिक बन्धन सरह हो । पत्रकारितालाई विश्वसनीय बनाउन विश्वभरी यसको प्रयोग भएको छ । पत्रकारका पेसा व्यवसायलाई सीमाभित्रै बाँधिराख्न यसको प्रयोग गरिएको हो । त्यसले पत्रकारका पेसागत विशेषाधिकार सीमाविहीन हुनुहुँदैन भन्छ । उसै त केही पत्रकार आफूलाई अर्कै ग्रहका नागरिक ठान्छन् । हातमा कलम छ भन्दैमा दुश्मनी साँध्ने हर्कत प्रदर्शन गर्छन् । त्यसैले पनि आचारसंहिता अनिवार्य आवश्यकता महसुस गरिएको हो । उसो त आचारसंहिता कुनै कानुनी बन्धन होइन । पेसाकर्मीले आफ्ना लागि आफैले बनाएको अस्त्र हो । यसले पत्रकारितालाई केही भए पनि परिपक्व, मर्यादित र जिम्मेवार बनाउँछ भन्ने मान्यता राखिन्छ । पत्रकारको काम समाजका विभिन्न पक्षलाई जिम्मेवार बनाउनु हो । त्यसैले पत्रकार पहिले आफू जिम्मेवार बन्न सक्नैपर्छ ।
पत्रकारले पत्रकारिता आफ्ना लागि गरेको होइन, समाज र नागरिकका लागि हो भन्ने हेक्का राख्नुपर्छ । सन्तुलित, मर्यादित र जिम्मेवार हुनु उसको दायित्व हो । थोरै भोजन गर्नाले मान्छे कुपोषणको शिकार हुन्छ, धेरै भोजन गर्नाले उसको स्वास्थ्य बिग्रन्छ । पत्रकारिता पेसा पनि ठीक त्यस्तै हो । अति हुँदा र केही कमजोरी भएमा समाजकै स्वास्थ्य बिग्रन सक्छ । अर्थात् सहीलाई सही भन्न नसक्ने हो भने समाज दिग्भ्रमित हुन्छ र गलत पथमा निर्देशित हुनपुग्छ । त्यसैले पत्रकार आफ्नो पेसाप्रति जहिले सचेत र चनाखो हुनैपर्छ । चिनियाँ दार्शनिक कन्फ्यूसियसले भनेका छन्, ‘समाजलाई हित हुने कुरामा व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिनुपर्छ ।’ के हामीले व्यवहारमा उतारेका छांैं ? आत्मसमीक्षा गरौं । पत्रकारको पेसा नै सार्वजनिक विषयवस्तुमा आधारित व्यवसाय हो । त्यसैले समाचारका विषयवस्तुमा पत्रकारले पूर्वाग्रही हुन मिल्दैन । मन परेको विषयलाई बढी उचाल्ने र मन नपरेको विषयलाई थिचार्ने काम पत्रकारले गर्न मिल्दैन । अर्थात् पत्रकार आफ्नो स्वार्थमा चल्नु हुँदैन । पत्रकार स्वार्थी हुँदा समाजलाई घाटा हुन्छ । कुनै विचारसँग नजिक भएर पनि पत्रकारिता सन्तुलित हुन सक्दैन । हाम्रो पत्रकारिता अहिले दलीय विचारसँग नजिक हुँदा त्यो समस्या देखिन थालिसकेको छ ।
उसो त पत्रकारिता हतारको व्यवसाय हो । यसको मतलब हतारको काम लतार गर्न भने मिल्दैन । समाजको हरेक गतिविधिमा प्रेसको सहज पहुँच अनिवार्य हुन्छ । ताकि प्रेसले बढीभन्दा बढी सूचना र जानकारी नागरिकलाई दिन सकोस् । आजको समाज र नागरिक तुलनात्मकरुपमा सचेत र सञ्चारप्रेमी छन् । प्रविधिको विकासले सञ्चारमा नागरिकको पहुँच अझ सहज बनाइदिएको छ । त्यसैले पत्रकारमा पनि प्रविधिको ज्ञान अनिवार्य शर्त हो । पत्रकार समाजको अगुवा सरह हो । जसले सूचनाको खेती गर्छ । सूचनाबाटै ज्ञान प्रदान गरिरहेको हुन्छ । यसअर्थमा पनि समाजका हरेक गतिविधिमा आफूलाई जानकार राख्नु पत्रकारका लागि अनिवार्य छ । आफू जानकार नहुँदासम्म अरुलाई नयाँ जानकारी दिन सम्भव हुँदैन । समाज जति अगाडि बढ्दैछ, पत्रकारका निम्ति त्यति नै चुनौती थपिदैछ । अर्थात् उसले आफूलाई समयानुकूल सबै चिजमा दक्ष र अपडेट राख्नु परिरहेको छ । पत्रकारले सम्प्रेषण गर्ने हरेक सूचनाहरु पूर्ण र सत्य, निश्पक्ष हुनैपर्छ । अधुरो सूचनाले नागरिकको चाहना पूरा गर्न सक्दैन । त्यसमा पत्रकार जहिले सजग हुनुपर्छ ।
पत्रकार आफ्नो पेसागत धर्म निर्वाह गर्ने क्रममा धेरै ठाउँमा चुकिरहेको हुन्छ । कुनै अपराधको घटनाको समाचार बनाउँदा अदालतले प्रमाणित गर्नु अघि उसले दोषीलाई ‘अपराधी’ संज्ञा दिन्छ । जुन गलत हो । अपराधी करार गर्ने काम अदालतको हो, पत्रकारको होइन । अपराधी प्रमाणित नहुँदासम्म पत्रकारले अपराधीको संज्ञा दिन मिल्दैन । कुनै ठाउँमा महिलामाथि कसैले बलात्कार गरेको आरोप लाग्यो । पत्रकारले समाचारमा बलात्कारी फरार भनेर समाचार बनाउँछ । बलात्कार गरेको हो कि होइन, घटना कसरी घटेको हो । ऊ दोषी हो कि आरोप मात्र हो । यस्ता विषय प्रमाणित नहुँदै पत्रकारले ‘बलात्कारी’ ठहर गरिदिन्छ । पत्रकारिताको धर्म यो होइन । भ्रष्टाचार भएको घटनाका समाचारमा पनि छानविन अघि नै प्रेसले भ्रष्टाचारी ठहर गरिदिन्छ । जुन अशोभनीय लाग्ने गर्छ । पीडितलाई थप पीडा दिने काम गर्नु हँुदैन भन्ने पत्रकार आचारसंहितामा व्यवस्था छ । तर, हामीले त्यसको व्यवहारमा ख्याल गर्न सकेका छैनौं ।
अर्को गम्भीर विषय अहिले ‘पेयबल’ समाचारको हो । पत्रकारले स्रोतबाट पैसा लिएर समाचार लेखेको घटना बग्र्रेल्ती सुनिन्छन् । कसैको दवाव र प्रभावमा परेर पत्रकारले त्यस्तो गरिरहेको सुनिन्छ । जुन समाजका निम्ति घातक विषय हो । हाम्रो आचारसंहिताले त्यस्तो विषयलाई कसरी व्याख्या गर्ला बहसको विषय बन्नसक्छ । कसैको प्रभाव र दवावमा परेर समाचारहरु सत्यतथ्य बन्नै सक्दैनन् । या त त्यो पत्रकारको स्वार्थअनुकूल हुनजाला या दवाव दिनेको अनुकूल । तर, समग्रमा त्यो समाजका निम्ति प्रतिकूल बन्छ नै । पत्रकारिताको धर्म त्यो होइन । यसप्रति सरोकारवाला सचेत बन्नैपर्छ । ‘पेयबल समाचार’ लेख्नु भनेको खेलकुदमा खेलाडीले ‘म्याच फिक्सिङ’ गरेजस्तै हो । खेलाडीलाई त्यसो गर्दा कारवाही हुन्छ भने पत्रकारलाई किन नहुने ? आमसवाल बन्नसक्छ । अर्को कुरा पत्रकारले आचारसंहिताको कार्यान्वयन गर्ने तर मिडिया मालिकले गर्न हुने कि नहुने ? लगानीकर्ताले आफ्नो व्यवसाय प्रवद्र्धनका निम्ति जे पनि गर्न छुट हुँदैन । मिडियामा लगानी पारदर्शी हुन नसक्नु मिडिया मालिकलाई आचारसंहिताले छुन नसक्नु सरह नै हो । नेपाली पत्रकारितामा नागरिकले तेस्र्याउने गरेको अर्को आम प्रश्न यो पनि हो ।
(लेखक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ)