धुर्मुस–सुन्तली बनाउन लागेको क्रिकेट रङ्गशालाका लागि चितवनमै सहयोग दिनेको घुइचो

मुग्लिन, ८ साउन । धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि चितवनमै ठूलाे सहयाेग उठेकाे छ । अन्तराष्ट्रिय स्तरकाे र‌ंगशाला बन्ने भएपछि खुसी भएर चितवनमा सयाै किसानहरुले समेत सहयाेग जुटाउन थालेका छन ।

सहयाेगका लागि चितवनमा अहिले विभिन्न कार्यक्रम नै गर्न थालिएका छ । साेही क्रममा पूर्वेली समाज चितवनले अायाेजना गरेकाे एक कार्यक्रममा मात्र २३ लाख सहयोग सङ्कलन भएको छ । पूर्वेली समाज चितवनले मङ्गलबार साँझ अबेर यहाँ आयोजना गरेको सहयोग रकम हस्तान्तरण कार्यक्रममा संस्था र विभिन्न व्यक्तिले सो रकम बराबरको चेक हस्तान्तरण र बोलकबोल गरेका हुन् । सोमध्ये रु ११ लाख १० हजारको चेक फाउण्डेशनलाई हस्तान्तरण गरिएको छ भने बाँकी रु १२ लाख ३५ हजार घोषणा भएको छ ।

कार्यक्रमको आयोजक पूर्वेली समाजले पाँच लाख सहयोग गरेको छ । समाजका अध्यक्ष डिकबहादुर गुरुङले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई चेक हस्तान्तरण गरेका हुन । यस्तै उक्त कार्यक्रममै उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा तीलचन्द्र भट्टराईले १० लाख सहयोग रकम घोषणा गरे । घोषित १० लाखमध्ये पाँच लाखको चेक उनले सोही अवसरमा फाउण्डेशनका अध्यक्ष धुर्मुसलाई हस्तान्तरण गरे । बाँकी पाँच लाख केही दिनमै उपलब्ध गराइने जानकारी दिए ।

भरतपुर महानगरपालिका–१२ का अध्यक्ष नरेन्द्र कङदङ्वाले पनि आफ्नो व्यक्तिगत तर्फबाट एक लाख तथा श्रीमतीको तर्फबाट १० हजार गरी कूल एक लाख १० हजारको चेक धुर्मुसलाई हस्तान्तरण गरे । झापा घर भई हाल चितवनमा बसोबास गर्दै आएका कुमार डाँगीले रङ्गशाला निर्माणका लागि फाउण्डेशनलाई पाँच लाख सहयोग रकम घोषणा गरेका छन ।

भरतपुर महानगरपालिका–९ का शिव घिमिरेले रु एक लाख एक हजार ५५१ घोषणा गरे । यस्तै पूर्वेली समाजका अध्यक्ष डिकबहादुर गुरुङसँगै विभिन्न व्यक्तिले सहयोग रकम घोषणा गरेका थिए । घोषित रकम रु पाँच हजारदेखि २५ हजारसम्म छन् । कार्यक्रममा फाउण्डेशनका अध्यक्ष कट्टेल, प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, रङ्गशाला निर्माण सहयोग समितिका संयोजक कृष्णकुमार डल्लाकोटीलगायतले सबैलाई रङ्गशाला निर्माणमा जुट्न आह्वान गरेका थिए ।

सहयाेग जुटाउन इच्छाकामना समिति नै गठन

यसैबीच गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सहयोगका लागि इच्छाकामना गाउँपालिकामा सहयोग समिति नै गठन गरिएको छ । मङ्गलबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको संयोजकत्वमा ४६ सदस्यीय गाउँपालिकास्तरीय सर्वपक्षीय सहयोग समिति गठन गरिएको हो ।

समितिमा जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकारलगायत छन् । गाउँपालिका अध्यक्ष गुरुङले समग्र जिल्लाको गौरवका लागि सबै मिलेर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको कामलाई सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले रङ्गशाला निर्माणको सहयोगका लागि चितवनका सबै स्थानीय तहमा समिति गठन गरिने बताए ।

सामाजिक अभियानकर्मी कलाकार ‘धुर्मुस–सुन्तली फाउण्डेशन’का अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले दुई वर्षभित्रै क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गर्ने बताए । उनले सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै आफ्नो मानसपटलमा रङ्गशाला निर्माण सम्पन्न भइसकेकाले कुनै द्विविधा नराख्न आग्रह गरे ।

समिति निर्माणका लागि गाउँपालिकामा फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’सहित जिल्ला समन्वय समितिका प्रमुख डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष यामबहादुर परियार र नेपाली काङ्ग्रेसका सभापति जीतनारायण श्रेष्ठलगायतको उपस्थिति थियो ।

यसअघि रङ्गशाला निर्माण गर्न चितवनमा सर्वपक्षीय पाँच हजार एक सदस्यीय मूल सहयोग समिति गठन भइसकेको छ । गाउँपालिकाका राजनीतिक दल, सङ्घसंस्था, व्यवसायी र स्थानीयवासीले रङ्गशाला निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसैबीच रङ्शालाको निर्माणकार्य मङ्गलबारबाट पुनः शुरु भएको छ । सडक विस्तारको माग गर्दै केही असन्तुष्ट स्थानीयवासीले जेठ १५ गते रङ्गशालाको केही तारबार भत्काएपछि निर्माणकार्य स्थगित भएको थियो । त्यसपछि भएको विभिन्न चरणको छलफल र सरोकारवाला पक्षको आग्रहपछि धुर्मुस–सुन्तली फाउण्डेशनले पुनः काम शुरु गरेको हो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस, प्रदेश सांसद विजय सुवेदीलगायतले पुनः रङ्गशाला निर्माणको कामले निरन्तरता पाएको बताए ।

केही दिनमै जिल्लाका विभिन्न स्थानमा घरदैलो अभियान सञ्चालन गर्ने, प्रतिबद्धता घोषणा भएको रकम जतिसक्दो चाँडो हस्तान्तरण गर्न अनुरोध गर्ने तथा विभिन्न समिति निर्माणलाई पनि तीव्रता दिने फाउण्डेशनले जनाएको छ । रङ्गशाला निर्माणको लागत रु तीन अर्ब अनुमान गरिएको छ ।

Loading...