पैसाको अभाबले दलित समुदायका बालबालिका पढ्न पाएनन्

जाजरकोट, ८ साउन । ठुलीभेरी नगरपालिका–२ कुम्लीकर्प डोल्पाकी छायाँ विकले दैनिक दुनै आएर दाउरा बिक्री गरेर छोराछोरीको पढाइ खर्च चलाउँदै आएकी छिन । उनले दैनिक एक भारी दाउरा बिक्री गरेर ५०० कमाउँदै आएकि छिन ।

बिहानै उठेर छोराछोरीलाई खाना खुवाएर आफ्नो तौलभन्दा बढी क्षमताको दाउराको भारी बोकेर दुनैस्थित होटलमा रु ५०० मा बिक्री गर्दै आएको उनको भनाइ छ । उनीजस्तै अर्की शोभा विक पनि दैनिक दाउरा बेचेर घर खर्च चलाउँदै आएको बताउछिन ।

चार छोराछोरीकी आमा उनि दैनिक दाउरा बिक्री नगरे घर खर्च चलाउन मुस्किल हुने बताउछिन । अर्का कुम्लीकर्पका धनीराम मिजार विगत ३२ वर्षदेखि आरनको काम गर्दै आएका छन् । दुनैका अधिकांश होटलहरुमा पाक्ने खाना कुम्लीकर्पका दलित समुदायका महिलाले बिक्री गरेको दाउराको भरमा चल्ने गरेको छ ।

घर नजिकैका विद्यालयमा कक्षा ५ सम्म मात्र पढाइ हुन्छ । सो भन्दा माथि यहाँका कुनै बालबालिकाले पढ्न नपाएको मन्मा आधारभूत विद्यालयका प्रधानाध्यापक जयकृष्ण हमालले जानकारी दिए । सुन्दर आधारभूत, मन्मा आधारभूत र महादेव आधारभूत गरी तीन विद्यालय छन् । तर, विद्यार्थी भने कम हुँदा समस्या हुँदै आएको छ । मावि तह सञ्चालन नभएको सो बस्तीमा अर्थाभावका कारण यहाँका दलित समुदायका बालबालिका कक्षा ५ देखि माथि कसैले पढ्न नपाएको हमालले बताए ।

दाउरा बोकेर दैनिक घर खर्च टार्ने दलित समुदायका बालबालिका विद्यालयमा समेत कम आउने गरेको उहाँको भनाइ छ । मन्मा आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्दै आएकी असु मिजारका तीन बहिनी छन् । उनका बुबाले आरनको काम र आमाले दाउरा बिक्री गरेर घर खर्च चलाउँदै आउनुभएको छ । आरनको काम र दाउरा बिक्री नभएको दिन उनीहरुको भान्सामा आगो बाल्न मुस्किल हुने गरेको छ ।

करीब १२० घर दलित समुदाय रहेको यो ठाउँबाट अहिले बसाइँ सरेर अर्को ठाउँमा जाने गरेको अर्का तुले विकले बताए । अप्ठ्यारो ठाउँ, पहिरोको जोखिमका कारण अहिले सुरक्षित स्थानमा यहाँका दलित समुदाय बसाइँ सर्न बाध्य भएको उनले बताए । बस्ती सर्दा जग्गा र घर निर्माणका लागि अर्थाभाव हुँदा थप समस्या भएको अर्का दलित समुदायका रामबहादुर मिजारले बताए ।

यहाँका दलित समुदायको स्तरोन्नतिका लागि स्थानीय सरकारले कुनै पनि सहयोग नगरेको गुनासो छ । आरन पेशालाई आधुनिक बनाउनेदेखि अन्य आयआर्जनका पेशामा लगानी गरेर जीवनस्तर बदल्न अहिलेसम्म कुनै काम नभएको यहाँका सबै दलित समुदायको भनाइ छ ।

आन्तरिक विवादमा फसेको ठुलीभेरी नगरपालिकाले अहिलेसम्म केही सहयोग नगरेको स्थानीयवासीको भनाइ छ । वर्षायाममा यहाँका दलित समुदाय घर छोडेर अर्काको घरमा शरण लिन बाध्य हुनुपरेको छ । जोखिमपूर्ण बस्ती भएका कारण घर छाडेर अर्काको घरमा शरण लिन बाध्य भएको उनीहरुको भनाइ छ ।

Loading...