बारेकोटका पहिरो पीडितलाइ पत्रकार गिरीको पहलमा सहयोग हस्तान्तरण

जाजरकोट । जाजरकाेटकाे बारेकोट गाउँपालिकाका पहिरो पीडितका लागि लागि पत्रकार वीरबहादुर गिरीको पहलमा संकलन भएको करीब ५ लाख बराबरको सहयोग हस्तान्तरण गरिएको छ ।

गत असार २५ गते बारेकोटमा गएको पहिरोबाट विस्थापित भएका घर परिवारहरुको सहयोगका लागि जिल्लामा पत्रकार गिरीको संयोजकत्वमा राहत संकलन समिति गठन गरी करीब ५ लाख सहयोग संकलन भएको थियो । संकलन भएको उक्त रकम मध्य ४ लाख बराबरको राहत सामाग्री खरिद गरिएको र बाँकी मृतकका परिवारलाई नगद हस्तान्तरण गरिएको हो ।

पत्रकार गिरीले वार्ड नं ४ जिरीको सार्की टोलमा गएको पहिरोमा परेर मृत्यु भएका २ घर परिवारलाइ २०-२० हजार, वार्ड नं. ६ धुमामा मृत्यु भएका २ घर परिवारलाई १०-१० हजार, मुल्साममा खोलामा बगेर ज्यान गुमाएका एक परिवारलाई १० हजार र पछ्याप्री गाउँमा घर जलेका ३ घर परिवारलाई ७-७ हजारका दरले नगद पनि प्रदान गरिएको जानकारी दिए ।  

बारेकोटमा पहिरोका कारण ठूलो जनधनको क्षेती भएपछि बारेकोट घर भएका प्रेस संगठन नेपाल कर्णाली प्रदेश समिति संयोजक समेत रहेका पत्रकार गिरीको संयोजकत्वमा राहत संकलन समिति गठन भएको हो । समितिलाई देश विदेशबाट मनकारी व्यक्तिहरुले नगद रकम सहयोग गरेका थिए । संकलन भएको रकमबाट खरिद गरिएको राहत सामाग्री र नगद सम्बन्धित स्थानमा शनिबार एक कार्यक्रमको आयोजना गरी १६५ घरपरिवारलाइ हस्तान्तरण गरिएको संयोजक गिरीले जानकारी दिए ।

आफुहरुको सहयोगले पहिरोले विस्थापित भएर बारेकोटका विभिन्न स्थानमा पालमुनी बसेका परिवारलाई थोरै भए पनि राहत पुग्ने उनको विश्वास छ । मानवीय सेवाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै पीडितहरुको दिर्घकालीन व्यवस्थापनका लागि सम्बन्धित पक्ष जिम्मेवार बन्नु पर्ने गिरीको माग छ । पहिरोबाट विस्थापित परिवारका लागि यस अघि राष्ट्रिय युवा संघ नेपाल, जाजरकोटले राहत सामाग्री संकलन गरी हस्तान्तरण गरेको थियो ।

बारेकाेट गाउँपालिकाकाे वार्ड नं ४ र वार्ड नं ६ मा पहिराेले बढी मानवीय क्षति पुर्याएकाे थियाे । वार्ड नं ४ जिरीकाे सार्कीटाेलमा १२ जनाकाे मृत्यु भएकाे थियाे भने वार्ड नं ६ धुमा गाउँमा २ जनाकाे मृत्यु भएकाे थियाे । पहिराेले बारेकाेटका अधिकांश गाउँहरु पहिराेकाे जाेखिममा परेका छन् । जमिन चर्किने, भत्किने र बग्ने क्रम ठूलाे पानी पर्दा अहिले पनि जारी रहेकाे बारेकाेटका पहिराे पीडित बताउँछन । जसका कारण अधिकांश मानिसहरु घर छाेडेर जंगल तथा गाेठमा बास बस्न बाध्य भएका छन् । 

Loading...