बारेकोटका पहिरो पीडितका लागि अमेरिकामा बस्ने नेपालीले गरे सहयोग

जाजरकोट, ४ साउन । जाजरकोटको बारेकोट पहिरो पीडितका लागि अमेरिकामा बस्ने नेपालीले आर्थिक सहयोग गरेका छन् । नेपालको तेह्रथुममा जन्मिएर अमेरिकीको न्यूयोर्क बसोबास गर्दै आएका हेम थापा र माया थापाले सो आर्थिक सहयोग गरेका हुन् ।

बारेकोट गाउँपालिका वार्ड नं. ४ जिरी सार्की गाउँ र बारेकोट गाउँपालिका वार्ड न.. ६ धुमा गाउँमा असार २५ गते राति आएको पहिरोले ठूलो जनधनको क्षति भएको थियो । २५ सार्की गाउँमा आएको पहिरोले २ घर बगाउनुका साथै २ घरमा क्षति पुर्याएको थियो । २ घरमा बसेका १२ जना पहिरोसँगै बगेका थिए । जसमध्ये ११ जनाको शव भेटिसकेको छ । त्यसैगरी धुमा गाउँमा २६ गते बिहान आएको पहिरोले ४ जना बगाएकोमा २ जनाको जिवितै उद्धार गरिएको थियो भने २ जना अहिलेसम्म वेपत्ता छन् । लगातार परेको वर्षाले बारेकोट गाउँपालिकाभरि असर गरेको थियो । बारेकोट गाउँपालिकाका विभिन्न गाउँमा जमिन चर्किने, घरआँगन धस्सिएर बग्ने र जमिन फाट्ने गरेपछि यहाँ ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका थिए ।

असार अन्तिम साता बारेकोटमा गएको पहिरोका पीडितका लागि सहयोग स्वरुप हेम एण्ड माया फाउन्डेशनले ५० हजार नगद सहयोग गरेको हो । नेपालको तेह्रथुम घर भई हाल अमेरिकाको न्यूयोर्कमा बसोबास गरिरहेका हेम थापा र माया थापाले सञ्चालन गरेको यो फाउन्डेशनले आइतबार उक्त रकम बारेकोट गाउँपालिकाको कृषि विकास बैंकमा रहेको खातामा रकम पठाएका हुन् । ननस्टपखबर लगायत सञ्चारमाध्यममा बारेकोट पहिरोका बारेमा निरन्तर खबर आएको र त्यहाँ रहेका घाइतेहरुको उपचारमा समस्या भएको सुनेपछि उनीहरुको सहयोग होस भनेर यो सहयोग गरेको हेम थापाले बताए ।

फाउन्डेशनको कोषाध्यक्ष भोजपुर निवासी जमुना राईले उक्त सहयोगका लागि समन्वय गरेकी हुन् । उनले फाउन्डेसनबाट नेपालका विभिन्न ठाउँमा पहिरो, बाढी तथा अन्य पीडितहरुका लागि धेरै सहयोग गरिएको जानकारी दिएकी छन् ।

यसैबीच बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले पहिरो पीडितका लागि आर्थिक सहयोग गर्ने हेम थापा र माया थापालाई धन्यवाद दिएका छन् । उनले विपतमा आफ्नो देश र नागरिकप्रति माया गरी सहयोगी हात बढाउने हेम एण्ड माया फाउन्डेशनप्रति आभार व्यक्त गर्दै बारेकोटी जनताका लागि सहयोग जुटाइदिन सबैमा अपिल पनि गरेका छन् ।

Loading...