
नवराज काफ्ले, भक्तपुर । सनसनीपूर्ण समाचार वा गम्भीर दृश्यको गैरजिम्मेवार प्रस्तुतीकरणले कसैको जीवन जोखिममा पार्न सक्ने, तर जिम्मेवार र संवेदनशील पत्रकारिताले जीवन जोगाउन समेत योगदान पुर्याउन सक्ने विषयमा भक्तपुरका पत्रकारलाई प्रशिक्षण दिइएको छ।
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) दुवाकोटको आयोजना र नेपाल पत्रकार महासंघ भक्तपुरको समन्वयमा सोमबार आयोजित ‘मानसिक स्वास्थ्य तथा जिम्मेवार मिडिया रिपोर्टिङ’ विषयक अन्तरक्रिया कार्यक्रममा मानसिक स्वास्थ्य विशेषज्ञहरूले सञ्चारमाध्यमको भूमिकाबारे विस्तृत प्रशिक्षण दिएका हुन्।
केएमसीकी मानसिक स्वास्थ्य विशेषज्ञ डा. सुजिता खड्काले पत्रकारहरू निरन्तर तनावपूर्ण वातावरणमा काम गर्ने भएकाले आफ्नो मानसिक स्वास्थ्यप्रति पनि सचेत हुनुपर्ने बताइन्। दुर्घटना, हिंसा, विपद् तथा आत्महत्याजस्ता संवेदनशील घटनाको समाचार सम्प्रेषण गर्दा ‘Do No Harm’ (हानि नपुर्याउने) सिद्धान्त पालना गर्नुपर्नेमा उनले जोड दिइन्।
उनले आत्महत्यासम्बन्धी समाचारमा प्रयोग गरिएको तरिका वा साधनको विस्तृत विवरण नदिन, पीडित र परिवारको निजी शोकलाई सनसनीपूर्ण रूपमा प्रस्तुत नगर्न तथा समाचारमा सहयोग प्राप्त गर्न सकिने सेवा र राष्ट्रिय हेल्पलाइन ११६६ जस्ता उपयोगी सूचना समावेश गर्न सुझाव दिइन्।
विश्व स्वास्थ्य संगठन (WHO) तथा अन्तर्राष्ट्रिय पत्रकारिता मापदण्डअनुसार बालबालिका, लैङ्गिक हिंसाका पीडित र शोकमा रहेका परिवारसँग संवाद गर्दा सहानुभूतिपूर्ण भाषा र संवेदनशील व्यवहार अपनाउनुपर्ने उनले बताइन्।
अर्की प्रशिक्षक डा. शुभेक्षा गौतमले मानसिक स्वास्थ्यलाई लिएर समाजमा अझै पनि कलंक र गलत धारणा विद्यमान रहेकाले सञ्चारमाध्यमले शब्द चयनमा विशेष सावधानी अपनाउनुपर्ने बताइन्।
‘पागल’ वा ‘साइको’ जस्ता अपमानजनक शब्दको प्रयोगले नकारात्मक धारणा बलियो बनाउने भएकाले त्यसको सट्टा ‘मानसिक स्वास्थ्य समस्या’, ‘मानसिक स्वास्थ्य अवस्था’ वा ‘परामर्श लिइरहेका व्यक्ति’ जस्ता सम्मानजनक शब्द प्रयोग गर्न उनले आग्रह गरिन्।
उनका अनुसार दुई साताभन्दा लामो समयसम्म निद्रामा समस्या, अत्यधिक चिन्ता, निराशा वा दैनिक जीवनमा असर पर्ने मानसिक लक्षण देखिएमा ढिलाइ नगरी विशेषज्ञको परामर्श लिनुपर्छ।
कार्यक्रममा मानसिक स्वास्थ्य विशेषज्ञ प्राडा सरोज ओझा र डा रचना शर्माले पत्रकारको जिज्ञासा समाधान गरेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा केएमसी अस्पताल र नेपाल पत्रकार महासंघ भक्तपुरबीच पत्रकार तथा उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सातबुँदे सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो।
सम्झौता पत्रमा केएमसीका तर्फबाट रञ्जित खतिवडाले सहजीकरण गरेका थिए भने नेपाल पत्रकार महासंघ भक्तपुरका तर्फबाट अध्यक्ष सुन्दर शिल्पकार र उपाध्यक्ष हेमराज ढकालले हस्ताक्षर गरेका छन् ।







