लेखापढी कानुन व्यवसायीमाथि प्रहरीको धरपकड, सेवा ठप्प

भक्तपुर । भक्तपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयबाट लेखापढी कानुन व्यवसायीमाथि प्रहरीले धरपकड गरेको छ।

कार्यालय परिसरमै बसेर बिचौलियाको भूमिका खेलेको आरोपमा बुधबार करिब १५/१६ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसरमा राखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार, लेखापढी व्यवसायीहरूले आफ्नै कार्यालयबाट सेवा दिनुपर्ने व्यवस्था हुँदाहुँदै सरकारी कार्यालयभित्रका कोठाहरूमा पुगेर काम गरिरहेको पाइएपछि कारबाही गर्नुपरेको हो।

तर, यस कदमप्रति असन्तुष्टि जनाउँदै भु–सेवा केन्द्र, लेखापढी तथा कानुन व्यवसायीहरूले सेवा बन्द गरेका छन्। उनीहरूले योजनाबद्ध रूपमा धरपकड गरिएको आरोप लगाउँदै यस्तो कार्यले व्यवसायिक वातावरणमा त्रास सिर्जना गरेको बताएका छन्।

लेखापढी कानुन व्यवसायी सङ्घका सचिव आशिष घिमिरेले पक्राउ परेकाहरूको निशर्त रिहाइ र सम्मानजनक काम गर्ने वातावरण सुनिश्चित गर्न माग गरेका छन्।

यसैबीच, सामाजिक अभियन्ता प्रेमध्वज मोक्तानले कानुनको दायराभित्र रहेर प्रहरी र व्यवसायी दुवैले काम गर्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय मानवअधिकार संगठन भक्तपुरका अध्यक्ष रामकृष्ण मानन्धरले अदालतबाट मान्यता प्राप्त व्यवसायीमाथि अनावश्यक हस्तक्षेप उचित नहुने धारणा राखेका छन्।

सेवा लिन आएका सेवाग्राहीहरूले पनि घुस वा अनैतिक क्रियाकलापमा संलग्न भएको ठोस प्रमाणबिना व्यवसायीलाई अवरोध गर्नु नहुने  प्रतिक्रिया दिएका छन्।