भक्तपुर । गुप्तचरी संगठन राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक एवं भक्तपुर जिल्ला इन्चार्ज टेकराज तिमल्सिनाको सरुवा भएको छ ।
भक्तपुर प्रमुखको भूमिकामा ४ वर्ष लामो अनुभव संगालेका तिमल्सिनाले बिहीवार विभागमा हाजिर गरेका छन् ।
भक्तपुरका ७ जना प्रमुख जिल्ला अधिकारीसंग काम गरेको अनुभवसहित उनी बिदा भए ।
भक्तपुरमा शान्ति सुरक्षा र सुशासनसंग सम्बन्धित ४५ प्रकारका सूचनाहरुको संकलन, बिश्लेषण र वितरणमा उनले आफ्नो चार वर्ष बिताए ।
जिल्लामा बजार अनुगमनको पर्दा पछाडि रहेर उनले कालोबजारी नियन्त्रणमा सक्दो सहयोग गरेका जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले जनाएका छन् ।
लागूऔषध दुर्ब्यसनी र कारोबारी मात्र उनको निसानामा थिएनन्, उनले नापी, भूमिसुधार र यातायात जस्ता सेवाग्राहीको चाप हुने कार्यालयमा जासुसीको जालो फैलाएका थिए ।
त्यतिमात्र होइन, उनले स्थानीय सरकारको हरेक ठेक्का र उपभोक्ता समितिको प्रगति विवरण माग्न थालेपछि सूचकहरुलाई भ्याइनभ्याई हुन्थ्यो ।
जिल्लामा शान्ति सुरक्षाको चुनौतीबारे सुरक्षा समितिलाई अवगत गराउन उनी सधैं अग्रस्थानमै हुनेगरेका पूर्व सिडिओहरु सुनाउँछन् ।
पछिल्लो समय जेनजी आन्दोलनको विध्वंसबारे पूर्वसूचना दिननसकेको भन्दै उपत्यकाको सुरक्षा बैठकमा काठमाडौ र ललितपुरका सिडिओहरुले अनुसन्धान विभागप्रति असन्तुष्टि जनाउँदा भक्तपुरले भने त्यो भोग्नु परेन ।
भक्तपुरका तत्कालीन सिडिओ नमराज घिमिरेले भक्तपुर प्रमुख तिमिल्सिनाले आफूलाई पूर्वसूचना दिएको भन्दै सन्तोष व्यक्त गरेका एक सहभागीले ननस्टपखबरलाई जानकारी गराएका थिए ।
भदौ २४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वमन्त्री महेश बस्नेत लगायतको घर जलाइने तयारी रहेको भनेर अनुसन्धानले अघिल्लो दिन नै जानकारी दिएको जिल्ला प्रशासन श्रोतले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी इकाइहरु र सरकारी कार्यालयमा आक्रमण हुनेकुरा अनुसन्धानले पहिल्यै जानकारी गराउँदा पनि रोक्नसक्ने अवस्था भने भएन ।
तत्कालीन ओली सरकारको सशक्त प्रतिपक्ष देखिएका अभियन्ता दुर्गा प्रसाईं भक्तपुरमै रहेर गतिविधि गर्ने भएकोले अनुसन्धानलाई भ्याइनभ्याई त थियो नै, साथमा रास्वपा र राप्रपाका शिर्ष नेताहरु र काठमाडौं महानगरका मेयर बालेन साहका विशेष सहयोगी भिक्टर पौडेलहरुको भक्तपुर बसाईले अनुसन्धानका प्रमुख तिमल्सिना निस्फिक्रि सुत्न सकेका थिएनन् ।
देशकै शान्ति सुरक्षा पछिल्लोसमय भक्तपुरमा निर्भर रहँदा जिल्लास्थित अनुसन्धानका कर्मचारीलाई प्रमुख तिमल्सिनाले सूचनाको लागि रातदिन कुदाइरहे ।
जेनजी आन्दोलनले सत्ता परिवर्तन गरेपछि पनि उनको दु:ख उस्तै देखिन्थ्यो । हिजो ओली सरकारको बचाउमा सूचना संकलन गर्दै हिड्ने टेकराजको भूमिका अहिले पूर्व प्रधानमन्त्री ओलीले सरकारलाई दिनसक्ने चुनौती रोक्न केन्द्रित थियो । गुण्डु र निकोसेराले उनको निन्द्रा खल्बल्याएका थिए ।
राष्ट्रिय अनुसन्धान विभागका भावि प्रमुख मानिने उपनिर्देशक टेकराजको नेतृत्वमा भक्तपुर कार्यसम्पादनका आधारमा प्रायः हरेक महिना सर्वोत्कृष्ट नै रह्यो ।
विभागको मूल्यांकनमा पछिल्लो दुई वर्ष नै उनले भक्तपुरलाई अनुसन्धानमा देशकै सर्वोत्कृष्ट जिल्ला बनाएर आफ्नो काविलियत प्रस्तुत गरेका छन् । विभागले दिएको सर्वोत्कृष्ट जिल्लाको प्रमाणपत्रले उनको कार्यक्षमता स्पष्ट पार्दछ ।
उनी विभागले पत्याएका अधिकारी हुन् । जेनजी आन्दोलन लगत्तै उपनिर्देशक तिमल्सिना दक्षिण तथा मध्यपूर्वी एसियाका विभिन्न १० राष्ट्रका जासुस एजेन्सीहरुका वरिष्ठ अधिकारी सहभागी कार्यक्रममा सहभागी भए । भारतीय जासुसी सस्था रअले आयोजना गरेको समिक्षा कार्यक्रममा विभाग प्रमुख टेकेन्द्र कार्कीले उनलाई प्रतिनिधि पठाएका थिए । यस् अघिका विभाग प्रमुख हुतराज थापाले पनि उनलाई आफूसंगै जापान लगेर अन्तरास्ट्रिय सम्बन्ध बढाउने काममा लगाएका थिए ।
त्यतिमात्र होइन, उनले आफ्नो कार्यकालमा अनुसन्धानको छुट्टै कार्यालय स्थापनाको लागि सूर्यविनायक-५ मा ४ रोपनी जग्गासमेत प्राप्त गरी संगठनको इतिहासमा आफ्नो नाम दर्ज गराइसकेका छन् ।







