रुपन्देही । रुपन्देहीमा उद्योगहरूमा गरिएको विद्युत् कटौतीविरुद्ध आयोजित विरोधसभामा बोल्दाबोल्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का उपाध्यक्ष कमल गौतमको निधन भएको छ।
६४ वर्षीय गौतमले बुटवलमा आयोजित कार्यक्रममा सरकारको निर्णयले २५ हजार मजदुरको रोजीरोटी संकटमा परेको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए। “हामी ती २५ हजार श्रमिकको रोजीरोटी गुमाउन चाहन्नौं, अतः यो कारणले…” यति भन्नासाथ उनी मञ्चमै ढले।
उनलाई तुरुन्तै मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइए पनि चिकित्सकहरूले उनलाई मृत घोषित गरे।
मुटु रोग विशेषज्ञ डा. लक्ष्मण दुवेका अनुसार गौतमको मृत्यु ‘कार्डियाक अरेष्ट’ का कारण भएको हो— जसमा मुटु अचानक धड्कन बन्द गरी शरीरका अंगहरूमा अक्सिजन पुग्न रोकिन्छ।
डा. दुवेका भनाइमा, “हृदयाघातभन्दा कार्डियाक अरेष्ट धेरै घातक हुन्छ, तुरुन्त डीसी सट दिएर मात्रै बिरामीलाई बचाउन सकिन्छ, जुन नेपालमा दुर्लभ छ।”
गौतम तीन दशकदेखि मजदुर हकहितका लागि सक्रिय थिए। उनी “मजदुरको आवाज मजदुरकै शक्ति हो” भन्ने विश्वासका साथ सधैं संघर्षरत रहँदै आए। आज उनी मजदुरकै निम्ति लड्दा लड्दै अस्ताए।







