मधिकर्मी र गौतमलाई ग्वंग सिरपा सम्मान

भक्तपुर । साहित्यिक सम्मान सङ्गम-२०५० को आयोजनामा शनिबार दुई ख्यातिप्राप्त साहित्यकारलाई ‘ग्वंग सिरपा सम्मान २०८२’ प्रदान गरिएको छ।

सो सम्मान प्राप्त गर्नेहरूमा साहित्यकार ध्रुव मधिकर्मी र प्राध्यापक लक्ष्मण प्रसाद गौतम रहेका छन्। उनीहरूलाई नगद ५० हजार ५ रूपैयाँसहित सम्मान गरिएको हो।

कार्यक्रममा संस्कृतविद र सिरपाका संरक्षक तेजेश्वर बाबू ग्वंगले लक्ष्मीप्रसाद देवकोटालाई आफ्नो साहित्यिक गुरु मानेको बताउँदै साहित्य र साहित्यकार जनताको लागि हुनुपर्नेमा जोड दिए ।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदार भक्त माथेमाले साहित्य सिर्जनालाई आत्मसन्तुष्टिको माध्यम बताउँदै लेखकले देश र जनताका पक्षमा लेख्न सरकारबाट सहयोग पाउनुपर्ने धारणा राखे।

निबन्धकार मुकुन्दराज शर्माले ध्रुव मधिकर्मी र लक्ष्मण प्रसाद गौतमको साहित्यिक योगदान र यात्राको चर्चा गर्दै उनीहरूको लेखनले नेपाली साहित्यलाई नयाँ दिशा दिएको बताए।

साहित्यकार ध्रुव मधिकर्मीले आफ्नो लेखनमा राजनीतिक विसंगतिलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गर्ने गरेको बताउँदै “हरेक हास्यमा व्यंग्य नहुने तर हरेक व्यंग्यमा हास्य हुन्छ,” भन्ने रोचक भनाइ राखे।

प्रा लक्ष्मण प्रसाद गौतमले तेजेश्वर बाबू ग्वंगले आफूले पाएको पुरस्कारको राशीबाट नयाँ पुरस्कारको व्यवस्था गरेको कुरा उल्लेख गर्दै त्यसलाई ‘महान पुरस्कार’ को रूपमा व्याख्या गरे। उनले सम्मानले थप जिम्मेवारी र गौरवको अनुभूति दिलाएको बताए।

कार्यक्रममा जितेन्द्र बस्नेत, ओम श्रेष्ठ, सञ्जिव ग्वंग र डा. विजया लक्ष्मी श्रेष्ठलगायतले पनि धारणा राखेका थिए ।

ग्वंग सिरपा सम्मान सन् २०५० सालमा पहिलोपटक साहित्यकार केदारमान व्यथितलाई प्रदान गरिएको थियो। त्यसयता हरेक दुई वर्षमा यो सम्मानले निरन्तर पाउदै आएको छ।