
क्यानाडा । क्यानाडियन नेवाः गुठीको आयोजनामा नेपालभाषामा लेखिएका दुई कृतिहरूको क्यानाडामा लोकार्पण गरिएको छ ।
टोरोन्टोस्थित नमस्ते पेभिलियन रेष्टुराँमा आयोजना गरिएको पुस्तक लोकार्पण कार्यक्रममा प्राज्ञ त्रैलोक्यमान बनेपाली (अगिब बनेपाली)को “मूस्वां चिबाखंया सामाजिक यथार्थवाद व मनोवैज्ञानिकवादया अध्ययन” र साहित्यकार सुमा श्रेष्ठको “पाप परिमोचन” लोकार्पण गरिएको हो ।
बनेपालीको अनुसन्धात्मक कृति “मूस्वां चिबाखंया सामाजिक यथार्थवाद व मनोवैज्ञानिकवादया अध्ययन” को लोकार्पण क्यानाडियन नेवाः गुठीका अध्यक्ष उत्तम माकःजुले गरे । त्यसैगरी श्रेष्ठको समीक्षात्मक टिप्पणीमूलक कृति “पाप परिमोचन” को लोकार्पण हळिं नेवाः दबूका केन्द्रीय उपाध्यक्ष तथा गुठीका प्रथम उपाध्यक्ष विमलमान श्रेष्ठले गरेका थिए ।
पत्रकारसमेत रहेका साहित्यकार त्रैलोक्यमान बनेपाली नेपाल प्रज्ञा–प्रतिष्ठानका मातृभाषा, कोष तथा व्याकरण विभाग प्रमुख समेत रहेका प्राज्ञ हुन् भने अर्की साहित्यकार श्रेष्ठ नेपाल सरकारको उपसचिव समेत हुन् । भक्तपुर निवासी लेखकद्वय पतिपत्नी हुन् ।
कार्यक्रममा लेखकद्वयले आफ्ना कृतिका केही अंश वाचन गरेका थिए भने उनीहरूलाई नेपाली टोपी र खास्टो ओढाएर आजोजकद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथि तथा साहित्यप्रेमीहरूले लोकार्पित कृतिहरूलाई नेपालभाषा साहित्यको नयाँ ऊर्जा र प्रेरणा स्वरूपका रूपमा प्रशंसा गरेका थिए ।
कार्यक्रममा अध्यक्ष उत्तम माकःजुले साहित्य समाजको ऐना भएको उल्लेख गर्दै बनेपालीले आफ्ना कृतिहरूमार्फत सामाजिक यथार्थ र मनोवैज्ञानिक आयामलाई गहिरो रूपमा प्रस्तुत गर्न सफल भएको प्रशंसा गरे । उनले बनेपाली–श्रेष्ठ दम्पतीप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता नवीन र सन्देशमूलक कृतिहरू पढ्न पाउने बिश्वास व्यक्त गरे ।
उपाध्यक्ष विमलमान श्रेष्ठले नेपालभाषा, संस्कृति र परम्पराको संरक्षणमा गुठीको निरन्तर प्रयासलाई स्मरण गर्दै, लोकार्पण भएका कृतिहरूले साहित्यप्रतिको रुचि र अभिरुचि बढाउने बताए ।
कृतिकार प्राज्ञ बनेपालीले विश्वमा प्रत्येक १५ मिनेटमा एउटा मातृभाषा लोप भइरहेको तथ्य प्रस्तुत गर्दै घर–घरमा मातृभाषा बोल्ने चलन नै भाषा संरक्षणको सबैभन्दा प्रभावकारी उपाय भएको स्पष्ट पारे ।
नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न मातृभाषाका त्रिभाषीय शब्दकोश तयार गर्ने कार्य अगाडि बढाएको उनले जानकारी दिए ।
अर्की कृतिकार सुमा श्रेष्ठले आफ्नो कृति “पाप परिमोचन” का माध्यमबाट तत्कालीन बौद्ध समाजका सामाजिक, धार्मिक र सांस्कृतिक मूल्यहरूबारे समीक्षात्मक दृष्टि प्रस्तुत गरेको उल्लेख गरिन ।
नेपाललिपिमा लेखिएको कृतिलाई देवनागरीमा रूपान्तरण गरी पाठकलाई सजिलो हुने व्यवस्था गरेको उल्लेख गर्दै, कृति प्रकाशनमा सहयोग गर्ने गुठी, गुरुजन तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरिन्।
कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक तथा नाट्यकर्मी डा. गोबिन्दसिंह रावतले समाजका विसङ्गति र चेतनाको प्रतिविम्बका रूपमा साहित्यको भूमिका महत्वपूर्ण रहेको बताउँदै लोकार्पण भएका कृतिहरू समाजोपयोगी दृष्टिकोण देखिएकोप्रति सन्तोष व्यक्त गरे । मातृभाषा संरक्षणका लागि परिवारमै आफ्नै भाषाबाट संवाद गर्ने अभ्यास गर्न उनले आग्रह गरेका थिए ।
त्यस्तै, गुठीका सदस्य नरेश ताम्राकारले लेखक दम्पतीद्वयलाई बधाई दिँदै भाषा, कला र संस्कृतिको संरक्षण बिना समुदायको अस्तित्व नै संकटमा पर्न सक्ने तर्क गरे ।


