क्यासिनो इतिहासमा माजोङको सुनौलो कीर्तिमान कायमै

काठमाडौं। राजधानीको सोल्टी होटल परिसरभित्र रहेको क्यासिनो माजोङले फेरि एकपटक आफ्नो कीर्तिमान कायम राखेको छ ।

दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित हस्पिटालिटी सम्मान ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ को ताज यसपालि पनि माजोङकै शिरमा सजिएको छ।

लगातार पाँचौँ पटक यो अवार्ड जित्दै माजोङले नेपाली क्यासिनो इतिहासमा सुनौलो कीर्तिमान कायम गरेको हो । यस्तो उपलब्धि अहिलेसम्म कुनै पनि क्यासिनोले दोहोर्याउन समेत सकेको छैन।

गएराति भारतको नयाँदिल्लीस्थित ‘होटल दि अशोक’मा आयोजित २०औं टुरिजम, ट्राभल एन्ड हस्पिटालिटी अवार्ड–२०२५ कार्यक्रममा माजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठलाई भारतका संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्रसिंह शेखावतले अवार्ड हस्तान्तरण गरे।

पुरस्कार ग्रहण गर्ने क्रममा श्रेष्ठको अनुहारमा झल्किएको मुस्कानमा केवल विजयको आनन्द मात्र थिएन, त्यहाँ थियो २७ वर्षको अनुभव, अटूट लगन र नेपाली पर्यटनप्रतिको गहिरो समर्पण।

होटल, रिजोर्ट, ट्राभल र क्यासिनो क्षेत्रमा करिब तीन दशकदेखि सक्रिय श्रेष्ठलाई आज नेपाली हस्पिटालिटी उद्योगको पथप्रदर्शक मानिन्छ।

उनले स्थापना र सञ्चालनमा ल्याएको क्यासिनो माजोङले अन्तर्राष्ट्रिय स्तरको सेवा, पारदर्शी सञ्चालन र मनोरञ्जन संस्कृतिको नयाँ अध्याय खोलेको छ । यही कारणले माजोङ हरेक वर्ष हजारौं विदेशी पर्यटकलाई नेपाल तान्दै आएको छ जसले देशको पर्यटन आम्दानीमा उल्लेखनीय वृद्धि गरेको छ।

उक्त समारोहमा माजोङको अर्को शाखा ‘माजोङ नेपालगञ्ज’ पनि पछाडि परेन। यसले ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्ड जित्दै राजधानीबाहिर पनि मनोरञ्जन पर्यटनको नयाँ सम्भावना उजागर गरेको छ।

त्यसैगरी, नेपालगञ्ज शाखाका महाप्रबन्धक निरजकुमार प्रधानले लगातार दोस्रो वर्ष ‘बेस्ट क्यासिनो जनरल म्यानेजर इन साउथ एसिया’ अवार्ड हात पारेर माजोङ टिमको व्यावसायिकता र उत्कृष्ट नेतृत्व क्षमताको प्रमाण दिएका छन्।

‘हस्पिटालिटी इन्डिया पब्लिकेसन्स ग्रुप’द्वारा आयोजित यो पुरस्कार दक्षिण एसियाली पर्यटन, होटल र मनोरञ्जन उद्योगको उत्कृष्टता मापन गर्ने प्रतिष्ठित मञ्च हो। मूल्यांकन समितिले प्रत्येक संस्थालाई सेवा स्तर, पर्यटक सन्तुष्टि, आर्थिक कारोबार र अन्तर्राष्ट्रिय लोकप्रियताका आधारमा मूल्यांकन गर्छ।

नेपालका लागि यो सम्मान केवल माजोङको जित होइन, यो हो नेपाली पर्यटन उद्योगको गौरव, आत्मविश्वास र सम्भावनाको पुनः पुष्टि हो ।
यसले स्पष्ट सन्देश दिन्छ कि जब दुरदृष्टि, लगानी र सेवा एकसाथ मिल्छन्, तब नेपालजस्तो सानो बजारमा पनि दक्षिण एसियाको ठूलो सेवा उद्योगको रुपमा माजोङ जस्ता क्यासिनो सफलतापूर्वक उभिन सक्छन् ।