काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, माया र शुभकामनाको प्रतीकका रूपमा भाइटीका पर्व देशभर उल्लासपूर्वक मनाइएको छ।
कार्तिक शुक्ल द्वितीयाका दिन पर्ने भाइटीका पर्वमा दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै सप्तरङ्गी टीका, मखमली र सयपत्री माला सहित पूजा गरेर टीका लगाइदिए। उनीहरूले दाजुभाइको सुखशान्ति, सुस्वास्थ्य र दीर्घायूको कामना गरे ।
सो अवसरमा दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउँदै सौभाग्यका प्रतीक कपडा, मिठाई र दक्षिणा अर्पण गरे।
दिदीबहिनी नहुनेका लागि आजै काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक खुला गरियो। यहाँ दिदीबहिनी नभएका दाजुभाइहरूले पूजा गरी टीका लगाउने परम्परा कायम राख्दै टीका लगाए ।
भाइटीकाको उत्सवसँगै पाँच दिनसम्म मनाइने यमपञ्चक अर्थात् तिहार पर्वको समेत समापन भएको छ।







