
ललितपुर । ललितपुर प्रहरीले पेस्तोल र चार लाख अठहत्तर हजार नगद सहित एकजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक चक्र जोशीका अनुसार खोटाङको साकेला गाउँपालिका–०१ घर भई हाल ललितपुर महानगरपालिका–२३ धापाखेल बस्ने २३ वर्षीय शिव कुमार बिकलाई पेस्तोल र नगद सहित पक्राउ गरिएको हो।
स्थानीयले मादक पदार्थ सेवन गरी होहल्ला गरेको भनेर खबर गरेपछि प्रहरी प्रभाग धापाखेलबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा बिक समातिएका बताइएको छ ।
उनको कम्बरमा भिरेको ब्यागभित्र लुकाइएको ५००००४९१ नम्बरको गोली नभएको म्यागजिनसहितको चाइनिज पेस्तोल १ थान, राष्ट्रिय वाणिज्य बैंकको ट्याग भएको चार लाख अठहत्तर हजार रुपैयाँ नगद र आइफोन १ थान बरामद गरिएको एसपी जोशीले जनाएका छन् ।
प्रहरी उपरीक्षक जोशीका अनुसार उक्त हतियार र नगद गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनका क्रममा लुटिएको हुन सक्ने आशंका गरिएको छ र सोही विषयमा केन्द्रीत रही थप अनुसन्धान जारी छ।







