राष्ट्रको लागि २ घण्टा अभियान : भक्तपुरका विद्यालयमा वातावरणीय कार्यक्रम

भक्तपुर । राष्ट्रको लागि २ घण्टा अभियानले भक्तपुर जिल्लाभित्रका विद्यालयहरूमा “वातावरणीय सचेतना र सरसफाइ अभिवृद्धि कार्यक्रम” लागू गर्ने तयारी थालेको छ। अभियानले विद्यालयस्तरमै वातावरणमैत्री अभ्यासलाई प्रवर्द्धन गर्दै विद्यार्थीहरूलाई व्यावहारिक रूपमा सचेत र जागरुक गराउने लक्ष्य लिएको छ।

अभियानका अध्यक्ष मधु ढुंगेलका अनुसार पहिलो चरणमा जिल्लाका सबै नगरपालिकाबाट केही विद्यालय चयन गरि कार्यक्रम सञ्चालन गरिनेछ। छनोट भएका विद्यालयका शिक्षक प्रतिनिधिहरूसँग विशेष छलफल सम्पन्न भइसकेको र आगामी कार्तिक १४ गते ती विद्यालयका शिक्षकहरूलाई लक्षित १ दिने वातावरणीय अभिमुखीकरण तालिम आयोजना गरिने तयारी गरिएको उनको भनाइ छ ।

त्यसैगरी अभियानका उपाध्यक्ष नरेश रञ्जितले यस कार्यक्रमलाई “वातावरणमैत्री विद्यालय र सचेत विद्यार्थी” निर्माणकाे अभियानका रूपमा अघि बढाइने बताएका छन्। उनका अनुसार विद्यालयहरूसँगको आपसी सहकार्य, विषयवस्तुको सहमति र व्यवहारिक तालिममार्फत दीगो वातावरणीय सचेतना प्रवर्द्धन गरिनेछ।

भक्तपुरको राधेराधेमा सम्पन्न संयुक्त छलफल बैठकमा अभियानका प्रतिनिधि र विद्यालयका शिक्षकबीच कार्यक्रमको प्रारूप, उद्देश्य र कार्यान्वयनका चरणहरूबारे विस्तृत विमर्श भएको थियो।

अभियानका महासचिव नवराज काफ्लेले छलफलबाट प्राप्त सुझावका आधारमा जिल्लाभर कार्यक्रम विस्तार गर्न आवश्यक गृहकार्य सुरु गरिएको जानकारी दिए। उनका अनुसार आगामी चरणमा सम्बन्धित निकाय, स्थानीय तह र समुदायका सरोकारवालासँग निरन्तर संवाद र अन्तर्क्रिया गरी अभियानलाई सशक्त बनाइनेछ।

राष्ट्रको लागि २ घण्टा अभियानले यसअघि विभिन्न सामाजिक र नागरिक जिम्मेवारीसम्बन्धी गतिविधिहरू सञ्चालन गर्दै आएको छ। यो नयाँ पहलले विद्यालयस्तरमै वातावरण संरक्षण र सचेतनाको संस्कार विकास गर्ने अपेक्षा गरिएको छ।

हनुमन्ते नदी सफाइ अभियान हुँदै राष्ट्रको लागि २ घण्टा अभियानमा संलग्न अभियन्ताहरुले अभियानलाई स्वच्छतासंग जोडेर कम्तीमा हरेक हप्ता दुई घण्टा काम गर्दै आइरहेका छन् ।