२२ बुँदे राजनीतिक प्रतिवेदन पारित गर्दै एमाले केन्द्रीय कमिटीको बैठक सम्पन्न

ललितपुर । नेकपा (एमाले) केन्द्रीय कमिटीको तीनदिने बैठक आज ललितपुरमा सम्पन्न भएको छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि समर्थक र आलोचक दुवै धार स्पष्ट रूपमा देखिएका छन्। केही नेताहरूले ओलीको राजीनामा माग्दै नयाँ नेतृत्व आवश्यक रहेको बताएका थिए भने धेरैजसो नेताहरूले वर्तमान संकटको घडीमा अध्यक्षलाई कमजोर पार्नु गलत भएको धारणा राखेका एक सहभागीले बताए ।

बैठकमा पार्टी एकता, आन्तरिक लोकतन्त्र, सुशासन र युवा सहभागिताका विषयमा व्यापक छलफल भएको पोलिट्ब्युरो सदस्य महेश बस्नेतले बताए।

संकटको समयमा अध्यक्ष ओलीको राजीनामा माग्नु असान्दर्भिक र पीडादायी भएको र अध्यक्ष ओलीकै नेतृत्वमा पार्टी एकढिक्का भएर अघि बढ्नुपर्ने बैठकले निस्कर्स निकालेको उनको भनाइ छ ।

तर, पुरुषोत्तम पौडेल, सुमन प्याकुरेललगायत केही नेताहरूले पार्टीभित्र नयाँ पुस्तालाई अवसर नदिएको र नेतृत्व सानो घेराभित्र सीमित भएको आरोप लगाए। पौडेलले भने, “७० वर्ष नाघेका नेताहरू अब बिदा हुनुपर्छ, युवालाई नेतृत्वमा ल्याउनुपर्छ।”

बैठकमा जेन–जी आन्दोलन, संसद् भवन आगजनी, भ्रष्टाचार, संविधान संशोधन र सुशासनका विषयमा समेत तर्क–वितर्क चले। धेरै नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टीमा ल्याउनुपर्ने धारणा राखे। उनको सदस्यता नविकरण नगर्नु दुःखद् भएको उनीहरुले बताए ।

बैठकको अन्त्यमा अध्यक्ष ओलीले प्रस्तुत गरेको २२ बुँदे राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरियो। उक्त प्रतिवेदनमा जेन–जी आन्दोलनका कारण उत्पन्न राजनीतिक संकट, प्रतिनिधिसभा विघटन, छानबिन आयोग गठन, शान्ति–सुरक्षा र सुशासनलगायतका विषय समेटिएका छन्।

ओलीले समापन मन्तव्यमा भने, “म सदैव पार्टी एकताको पक्षमा छु। अहिलेको चुनौती लोकतन्त्रको रक्षा र राष्ट्रिय एकतालाई मजबुत बनाउनु हो।” उनले जनताको विश्वास पुनः आर्जन गर्न पार्टीलाई जिम्मेवार ढङ्गले अघि बढ्न निर्देशन दिए।

बैठकले आन्दोलनका क्रममा मृत्यु भएका युवा, सुरक्षाकर्मी र सर्वसाधारणप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ। साथै, आगामी राजनीतिक दिशाबारे स्पष्ट कार्ययोजना बनाउँदै युवाहरूसँग संवाद र सहकार्यका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ।

एमालेले बैठकमार्फत मुलुकलाई लोकतान्त्रिक पद्धति, सामाजिक सद्भाव र राजनीतिक स्थायित्वतर्फ फर्काउने संकल्प व्यक्त गरेको छ।

यद्यपि, केन्द्रीय कमिटी बैठकको समापनमा सम्बोधन गर्ने क्रममा ओलीले फागुन २१ को निर्वाचनमा नजाने घोषणा गरेका एक सहभागीले बताए ।

केन्द्रीय कमिटी बैठकले ११ औं राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७,२८ र २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जनाएका छन् ।